प्रेमीसँग मिलेर श्रीमान्काे हत्या, कान्छी श्रीमती र प्रेमी पक्राउ
सुनसरी । ४३ वर्षीय दिनेश सिग्देलको हत्यामा उनकै (कान्छी) श्रीमती अनिता केसीको संगलग्नता रहेको खुलेको छ ।
झाेलामा शव टुक्रा-टुक्रा पारेर फालिएका अवस्थामा भेटिएका सिग्देलको हत्या उनकै कान्छी श्रीमती अनिता केसीले प्रेमीसँग मिलेर गरेकाे खुलेकाे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ । इलाम स्थायी घर भएका सिग्देलकाे अनिता र उनका प्रेमी माेरङका सराेज भण्डारीले हत्या गरेर शव टुक्रा-टुक्रा पारी जेब्रा झाेलामा फालेका प्रहरी अनुसन्धानबाट खुलेकाे हाे ।
फागुन ४ गते सुनसरीको धरान उपमहानगरपालिका-४ कोशी राजमार्ग अन्तर्रगत धरान-धनकुटा सडक खण्डको जेठामाने गोलाई नजिकै जेब्रा झोलामा सडेगलेको अवस्थामा पुरुषको टाउको र दाहिने खुट्टाको तिघ्रादेखि तलको भाग भेटिएको थियो । त्यसपछि प्रहरीले साे शवका अन्य भागकाे खाेजी थालेकाे थियाे । त्यसक्रममा प्रहरीले फागुन ५ गते पहिलेको ठाउँ भन्दा करिब ४ किलोमिटर माथि सडक नजिकै जेब्रा झोलामा नै घाँटी भन्दा मुनिको भागको शरीरसहित बायाँ खुट्टा फेला पारेको थियो । साे शवकाे पहिचान हुन भने सकेन ।
यसरी भयाे शवकाे पहिचान
प्रहरीले साे शव पहिचान र हत्याराकाे खाेजीका लागि अनुसन्धान तीब्र पार्याे । प्रदेश प्रहरी कार्यालय विराटनगर, संघीय प्रहरी कार्यालय धरान सुनसरी, जिल्ला प्रहरी कार्यालय सुनसरी इलाका प्रहरी कार्यालय धरान सुनसरी, इलाका प्रहरी कार्यालय दमक झापा, जिल्ला प्रहरी कार्यालय मोरङ, प्रहरी प्रधान कार्यालय र बहराइन प्रहरी समेतकाे सहयाेगमा अनुसन्धान भयाे ।
प्रहरीले सातै प्रदेशका प्रहरी कार्यालयमा फोटोसहितको हुलिया परिपत्र गर्याे । सञ्चारमाध्यमबाट पनि प्रचार-प्रसार गर्याे । महानगरीय अपराध महाशाखा काठमाडौंको समन्वयमा अनुहारको भागको स्केच तयार गरी विभिन्न ठाउँमा वितरण गर्याे । तर पनि शवकाे पहिचान खुलेन । दिनेश केही समयअघि बहराइबाट फर्किएका थिए । श्रम कार्यालय र अध्यागमन कार्यालयसँग प्रहरीले बहराईनबाट आएका कामदारको विवरण माग्याे ।
शवसँगै फेला परेको फेस मास्क र भिजिटिङ कार्डका आधारमा नेपाल प्रहरीले बहराइन प्रहरीसँग समन्वय समेत गर्याे । प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाले समन्वय गर्दा बहराइन प्रहरीले तातवीर पेट्रोलियममा सेक्युरिटी गार्डको काम गर्ने इलाम घर भएका दिनेश सिग्देल बिदामा गएको र हालसम्म पनि फर्केर नआएको जानकारी दियो ।
यता अध्यागमन विभागको रेकर्डले दिनेश नेपाल आएकाे मिति पुष्टि भयाे । साे रेकर्डबाट २०२२ जनवरी ४ मा दिनेश त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आएको खुल्याे ।
दिनेशकाे शवकाे पहिचानका लागि प्रमाण जुटाएपछि प्रहरीले उनका बुवा इलामको बाँझो घर भइ हाल झापाको शिवसतासी-११ झिलझिले बस्ने सुरेन्द्र सिग्देल र दिनेशकी जेठी श्रीमती निर्मला सिग्देलमार्फत शवको सनाखत गर्याे । फागुन ९ गते साे शवकाे पहिचान भयाे । त्याे शव इलाम बाँझो-१ घर भइ मोरङकाे विराटनगर महानगरपालिका-३ मा डेरामा बस्दै आएका रोजगारीको सिलसिलामा बहराइन गइ फर्केका ४३ वर्षीय दिनेश सिक्देल रहेको खुल्याे ।
सुनसरी प्रहरीका अनुसार दिनेशले दोस्रो विवाह गरी कान्छी श्रीमतीसँग बस्ने गरेकाे र विदेशबाट आएपछि सधैं त्यहाँ जाने गरेको भन्ने जानकारी बुवा सुरेन्द्रले दिएपछि प्रहरीले विराटनगर-३ पिपलचोकमा डेरा गरी बस्ने ३० वर्षीय अनिता(दिनेशकी कान्छी श्रीमती) लाई अनुसन्धानका लागि नियन्त्रणमा लियाे । प्रारम्भिक अनुसन्धानबाटै हत्यामा अनिता र उनका प्रेमी नै संलग्न भएकाे खुल्याे । अनिताले आफू र आफ्नाे प्रेमी मिलेर दिनेशकाे हत्या गरेकाे र शव झाेलामा पाेकाे पारेर धरान-४ स्थित जेठामानेमा फालेकाे बयान दिइन । अनिताकाे बयानका आधारमा प्रहरीले उनका प्रेमी सराेजलाई पनि पक्रियाे । दुबै जनालाई प्रहरीले मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्याे ।
कसरी भयाे दिनेशकाे हत्या ?
सुनसरी प्रहरीका अनुसार १० महिना अघि बहराईन गएका दिनेश गत पुस २० गते १५ दिनको बिदा लिएर नेपाल फर्किएका थिए । २१ गते उनी काठमाडाैंबाट सिधै विराटनगर गए । त्यहाँ पुग्नासाथ कान्छी श्रीमती अनितालाई भेटी विराटनगर नोबेल अस्पताल नजिक रहेको फेमेली होटलमा बसे । २२ गते अनिता बस्ने डेरा अर्थात विराटनगर-३ पिपलचोक स्थित डेरामा आए ।
उनीहरु डेरामा आएकाे केही समयमा अनिताका प्रेमी उर्फ सराेज पनि त्यहाँ आए । सराेज र दिनेशबीच सामान्य कुराकानी भयाे । त्यसपछि अनिता र सराेजले दिनेशकाे घाँटीमा गलबन्दीकाे पासाे लगाए र त्यसले कसेर हत्या गरे । गलबन्धी सराेजले नै बाेकेर आएका थिए । दिनेशले प्राण त्यागे । त्यसपछि दिनेशकाे शव त्यहिँ छाेडेर अनिता र सराेज त्याे रात बाहिर गएर बसे ।
पुस २३ गते बिहान दुबै जनाले स्थानीय पसलबाट ४ हजार रुपैयाँमा ग्रेण्डर मेसिन, २ थान जेब्रा झोला र पोलिथिन झोला किनेर ल्याए । दुबै जनाले सो लाशलाई व्यवस्थापन गर्न ग्रेण्डर मेसिन, खुकुरीको सहायताले दिनेशकाे लासको घाँटीमा काटी टाउको र दाहीने तिघ्राको भाग काटी अलग गराई टाउको र तिघ्राको भाग एउटा झोलामा र शरिरको भाग अर्को झोलामा हाले । साेही दिन दिउँसाे २ बजे ट्याम्पो भाडामा लिइ धरान-४ काे जेठामाने जंगलमा लगेर दिनेशकाे शव टुक्रा पारिएका दुबै जेब्रा झाेला फाले । त्यसदिन अनिता र सराेज डेरामा गएनन् । भेडेटारमै रात बिताए । भाेलिपल्ट विराटनगर फर्के ।
फागुन ४ मा दिनेशकाे शव प्रहरीले फेला पार्याे । साे शवकाे पहिचान फागुन ९ मा भयाे । अनिता र सराेज पनि पक्राउ परे । उनीहरुलाई सुनसरी जिल्ला अदालतबाट पहिलो पटक दिन ७ म्याद थप अनुमति लिइएकाे र सो मुद्दाको थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार दिनेश लामाे समयदेखि बहराइन आउजाउ गर्थे । इलाम घर भएपनि उनी झापाकाे दमक नगरपालिका-५ मा बसाइ सरेका थिए । कान्छी श्रीमतीलाई राख्न दिनेशले विराटनगरमा कोठा भाडामा लिएका थिए । दिनेश विदेशमा गएका बेला केही वर्षअघि सराेजसँग अनिताकाे चिनजान भयाे । दुबै जना प्रेममा परे ।विराटनगरमा एक्लै बस्दै आएकी अनिता र सरोजबीच भेटघाट बढ्याे । प्रेम सम्बन्ध झांग्गियाे । गत ६ महिनादेखि उनीहरु एउटै कोठामा श्रीमान्-श्रीमती जसरी नै बस्दै आएका सुनसरी प्रहरीले जनाएकाे छ ।
सिटी सफारी चालक रहेका सरोज पनि बिवाहित नै रहेका प्रहरीले जनाएकाे छ । तर सराेजकाे श्रीमतीसँग राम्रो सम्बन्ध थिएन । सरोजकी श्रीमती माइतीमा नै बस्दै आएकी थिइन् । दिनेशका एउटा छाेरा समेत छन् ।


प्रतिकृया दिनुहोस