• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

प्रधानसेनापति शर्मा स्वदेश फिर्ता

खबर स‌ंवाददाता

काठमाडाैं । प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमण सकेर स्वदेश फिर्ता हुनुभएकाे छ ।

प्रधानसेनापति शर्मा चार दिने भारत भ्रमण सकेर शुक्रबार साँझ स्वदेश फर्कनुभएकाे हाे । प्रधानसेनापति शर्मालाई बलाधिकृत रथी बालकृष्ण कार्कीले गौचरस्थित नेपाली सेनाको मध्यएयर बेसमा स्वागत गर्नुभएकाे सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएकाे छ ।

भारतका स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेको औपचारिक निमन्त्रणामा शर्मा कात्तिक २३ गते नयाँ दिल्ली जानुभएकाे थियाे । साेही दिन नै उहाँले भारतीय स्थल सेनाध्यक्ष जनरल एमएम नरवणे, रक्षासचिव अजय कुमार र एयर चिफ मार्सल भीआर चौधरीसँग भेटवार्ता गर्नुभएकाे थियाे ।

भारत भ्रमणका क्रममा प्रधानसेनापति शर्मालाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले कात्तिक २४ गते राष्ट्रपति भवनमा आयोजित सुशोभन समारोहमा भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुभएकाे थियाे । कात्तिक २४ गते नै उहाँले भारतीय चिफ अफ डिफेन्स जनरल विपिन रावतसँग भेटवार्ता गर्नुभएकाे थियाे ।

प्रधानसेनापति शर्माले कात्तिक २५ गते भारतका रक्षा मन्त्री राजनाथ सिंह, विदेश मन्त्री डा. एस. जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्नुभएको थियाे ।

साेही दिन नै ले शर्माले नयाँ दिल्लीमा रहेकाे नेशनल डिफेन्स कलेजको भ्रमण समेत गर्नुभएको थियाे । साे अवसरमा उहाँलाई कलेजको 'वाल अफ अनर' बाट सम्मानित गरिएको थियो । प्रधानसेनापति शर्मा याे सम्मान प्राप्त गर्ने पहिलो नेपाली व्यक्ति हुनुहुन्छ । 

प्रतिकृया दिनुहोस