• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

प्रधानसेनापति शर्मा भारत प्रस्थान

खबर स‌ंवाददाता

काठमाडाैं । प्रधानसेनापति  प्रभुराम शर्मा भारतको चार दिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ ।

भारतका स्थल सेनाध्यक्ष जनरल एमएम नरवणेको औपचारिक निमन्त्रणामा उहाँ भारत जानुभएकाे हाे । नेपाली सेनाको मध्य एयरबेश गौचरमा उहाँलाई बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गर्नुभयो ।

प्रधानसेनापति नेतृत्वकाे ९ सदस्यीय सैनिक टाेली चार दिने भारत भ्रमणका लागि नेपाली सेनाकाे जहाजबाट नयाँ दिल्ली प्रस्थान गरेकाे हाे । प्रधानसेनापति भएपछि शर्माको यो पहिलो विदेश भ्रमण हो ।

प्रधानसेनापति शर्मालाई कात्तिक २४ गते भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाल र भारतका सेना प्रमुखहरुलाई कदरस्वरुप एकअर्को मुलुकको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने प्रचलन छ ।

भ्रमणका क्रममा प्रधानसेनापति शर्माले समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका उच्च पदस्थ अधिकारीसँगसमेत भेटवार्ता गर्नुहुनेछ । प्रधानसेनापति सहितकाे टाेली कात्तिक २६ गते स्वदेश फर्कनेछ ।

प्रधानसेनापति शर्माको भारत भ्रमणको अवधिभर उहाँको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नु हुने सेनाले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस