जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापाको बिदाइ
काठमाडाैं । प्रधानसेनापति पूर्णचन्द्र थापाको सम्मानमा नेपाली सेनाको मुख्यालय जंगी अड्डामा बिदाइ कार्यक्रम सम्पन्न भएकाे छ ।
भदौ २४ देखि अवकाशमा जान लाग्नुभएका प्रधानसेनापति थापालाई आइतबार सेनाले औपचारिक रूपमा बिदाइ गरेको हाे । कायममुकायम प्रधानसेनापति प्रभुराम शर्माले महारथीको तीन वर्षे कार्यकाल पूरा गरी अवकाश लिन लाग्नुभएका थापाको सम्मानमा बिदाइ कार्यक्रम आयाेजना गर्नुभएकाे सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएकाे छ ।
कार्यक्रमा रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले प्रधानसेनापति थापाले आफ्नो ४२ वर्ष लामो सैनिक जीवनको दौरान नेपाली सेनाको सर्वोच्च पदमा पुगेर संस्थाको श्रीवृद्धि गर्न र नेपाली सेनालाई भरोसायोग्य संगठनको रुपमा रुपान्तरण गर्न अतुलनीय योगदान पुर्याउनुभएकाे भन्दै बधाई दिनुभएकाे थियाे । आगामी दिनमा रक्षा मन्त्रालय तथा नेपाली सेनाबीच साझा लक्ष्य तथा उद्देश्य प्राप्तिका लागि सदैव सहकार्य हुने उहाँकाे भनाइ थियाे ।
कायममुकायम प्रधानसेनापति रथी शर्माले महारथी थापाको ३ वर्षे कार्यकालमा सेनामा भएको सांगठनिक सुदृढीकरण, आधुनिकीकरण तथा पद्धति र प्रणालीको विकासमा भएका आमूल परिवर्तनले नेपाली सेनालाई थप सक्षम र सबल बनाउन सफल हुनुभएकाे भन्दै बधाई दिनुभयाे । आफ्नो भावी कार्यकालका मुख्य प्राथमिकताबारे पनि शर्माले सुनाउनुभयाे ।
कार्यक्रममा प्रधानसेनापति महारथी थापाले मन्तव्य पद्धती र प्रणालीलाई आत्मसात गर्ने आधारभूत चरित्र निर्माणले नेपाली सेना आधुनिक र व्यवसायिक सेनाको रुपमा कायम हुने विश्वास व्यक्त गर्नुभयाे । आफ्नो कार्यकालमा भएका दीर्घकालीन योजनाको कार्यान्वयन तथा अन्य विविध सकारात्मक प्रयासमा निरन्तर सहयोग गर्ने रक्षा मन्त्रालय लगायत अन्य सबैलाई उहाँले धन्यवाद दिनुभयाे ।
यसअघि प्रधानसेनापति थापाले कामु प्रधानसेनापति शर्मालाई नेपाली सेनाको झण्डा, प्रधान सेनापतिको झण्डा तथा छडी हस्तान्तरण गर्नुभएकाे थियाे । थापाको सम्मानमा एक टुकडीले सम्मान गारद समेत अर्पण गरेको थियो ।
बिदाइ कार्यक्रममा सर्वोच्चका न्यायाधीश, कामु प्रधानसेनापति, पूर्व प्रधानसेनापतिहरु, रक्षा सचिव, नेपाली सेनाका रथीवृन्द तथा अधिकृत, सुरक्षा निकायका प्रमुखहरु, सैनिक श्रीमती संघका पदाधिकारी, सञ्चारकर्मी लगायत सहभागी हुनुभएकाे थियाे ।


प्रतिकृया दिनुहोस