• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

बहुर्राष्ट्रिय कम्पनी युनिलिभरमा छापा, कारबाही प्रक्रिया सुरु

समाचार

बागमती । हेटौंडास्थित बहुर्राष्ट्रिय कम्पनी युनिलिभरको चिया प्रशोधन केन्द्रमा स्थानीय प्रशासनले सिल गरि आजबाट थप कारबाही प्रक्रिया सुरु गरेको छ । 

जिल्ला प्रशासन कार्यालय मकवानपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौंडा तथा विभिन्न उपभोक्तावादी संघसंस्थाको संयुक्त अनुगमन टोलीले बिहीबार गरेको अनुगमनका क्रममा उक्त कम्पनीमा म्याद गुज्रिएको चिया फेला पारेपछि स्थानीय प्रशासनले युनिलिभरको चिया प्लान्ट सिल गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख सोमकान्त रिजालले जानकारी दिनुभयो ।  

उहाँले भन्नुभयो, 'विशेष सूचनाका आधारमा भएको अनुगमनमा विवरण स्पष्ट नभएका तथा म्याद गुज्रिएका चियापत्ती फेला पारेर हामीले नमूना संकलन गरेका छौँ र कम्पनीको चिया प्रशोधन केन्द्रमा सिलबन्दी गरेका छौँ ।' उहाँका अनुसार उक्त कम्पनीमा म्याद गुज्रेका तथा विवरण स्पष्ट नभएका करिब ३० किलोग्रामका ९२० बोरा चिया फेला परेको थियो । फेला परेको चियाको नमूना संकलन गरी परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइएको उहाँले बताउनुभयो । 

उक्त चियालाई पुनः म्याद थपेर नयाँ प्याकेट बनाउने प्रयोजनका लागि राखिएको विशेष सूचना पछि अनुगमन गरिएको उहाँले जानकारी दिनुभयो । भारतबाट आयात गरिएको म्याद गुज्रिएको चियापत्ती ‘रेड लेबल’ नामक  चियाको ब्राण्डमा बिक्रीका लागि बजार पठाउने गरेको फेला पारिएसँगै अनुगमन भएको हो । 

प्राप्त विशेष सूचनाको आधारमा स्थानीय प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्तावादी संघ संस्थासहितको संयुक्त अनुगमन टोलीले उद्योग परिसरमा रहेको चियापत्ती प्लाण्टमा अनुगमन गरेको बताइएको छ । यसअघि सो टोलीले भारतीय ब्राण्डको नाममा गैरकानुनीरुपमा अगरबत्ती उत्पादन गर्ने एक व्यवसायीलाई पनि कारबाही गरेको थियो । 

–रासस
 

प्रतिकृया दिनुहोस