केशवराज हत्यामा नयाँ ट्विस्ट : हत्या भएको कोठामा भेटिएको थियो पेस्तोल !
काठमाडौं । फ्रान्सका लागि नेपाली पूर्वराजदूत केशवराज झाको हत्या हुनुअघि उनको कोठाबाट एउटा पेस्तोल भेटिएको घटना बाहिर आएको छ ।
केशवराजको हत्या भएको एक वर्ष पूरा भइसक्दा पनि हत्यारा अझै पत्ता लाग्न सकेको छैन । २०७५ भदौ ४ मा काठमाडौंको बबरमहलस्थित आफ्नै निवासमा केशवराजको हत्या गरिएको थियो ।
हत्यामा संलग्न रहेको आशंकामा सोही घरमा सहयोगीको काम गर्दै आएका सानुकान्छा तामाङ मालीको काम गर्ने आइतसिंह तामाङ र जयबहादुर गुरुङ पनि पक्राउ परेका थिए । हत्यामा उनीहरूको संलग्नता नभएको ठहर गर्दै तीनै जनालाई प्रहरीले छाडेको थियो ।
कोठाको पेस्तोल गुपचुप
केशवराजको हत्या भएको कोठाबाट त्यतिबेला प्रहरीले एउटा पेस्तोल बरामद गरेको थियो । ६ राउन्ड गोली लाग्ने ‘सिक्सर’ मिनी पेस्तोल बरामद भएको तथ्य हालसम्म प्रहरीले सार्वजनिक गरेको छैन ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार उक्त पेस्तोल उनको सुत्ने खाटको सिरानीमा फेला परेको थियो । सो पेस्तोल केशवराजले आफ्नै सुरक्षाका लागि राखेको हुनसक्ने बताइएको छ । लाइसेन्स नभएको उक्त पेस्तोल झाले किन राखे भन्ने रहस्य खुलेको छैन । सो पेस्तोल झाकै हो कि अरु कसैको हो भन्ने पनि खुलेको छैन ।
साना हतियारको लाइसेन्स दिने व्यवस्था छैन
नेपालमा सिक्सर जस्तो साना हतियारको लाइसेन्स दिने व्यवस्था छैन । हाइप्रोफाइल कूटनीतिज्ञ भएकाले पूर्वराजदूत केशवराजले कतैबाट पेस्तोल ल्याएको हुनसक्ने आशंका गरिएको छ । अहिले पनि प्रहरीले केशवराजको कोठाबाट पेस्तोल भेटिएको तथ्य औपचारिक रुपमा बाहिर ल्याएको छैन ।
केशवराजका निकट मित्र हुन्, वरिष्ठ पत्रकार पद्मसिंह कार्की । सनराइज खबरलाई उनले बताए अनुसार केशवराज सुरक्षा सतर्कता अपनाउने स्वभावका मानिस थिएनन् । ‘साथमा उहाँले पेस्तोल राख्नुहुन्थ्यो भन्ने मलाई खासै विश्वास लागेन’, कार्कीले भने, ‘त्यो पेस्तोल सम्बन्धमा प्रहरीले गहिरिएर अनुसन्धान गरेकै होला । तर, उहाँले कहिल्यै मसँग पेस्तोलको प्रसंग निकाल्नुभएन ।’
घुमिफिरी सानुकान्छा
अनुसन्धानमा खुलेका केही घटनाक्रमका आधारमा घटनाको एक वर्षपछि प्रहरीले सानुकान्छालाई फेरि पक्राउ गरेको छ ।
काभ्रेका सानुकान्छा केशवराजको घरमा दस वर्षदेखि काम गर्दै आएका थिए । घरको मूलगेट छेउको ‘पालेकोठा’ मा उनी बस्थे । भान्साको काम गर्थे ।
घटना भएको बिहान ५ बजे नै मालीको काम गर्दै आएका आइतसिंह तामाङ र जयबहादुर गुरुङ केशवराजको घर पुगेका थिए । सहयोगीहरूले पानी भरेर बिहानको सबै काम सक्दा पनि केशवराज नउठेपछि श्रीमतीले सानुकान्छा, आइत र जयकै सहयोगमा ढोका खोल्दा उनी मृत फेला परेका थिए ।
केशव झाका छोरा–बुहारी विदेशबाट काठमाडौं आएको केही दिनपछि २०७५ भदौ ३ मा फर्कंदै थिए । भान्सामा काम गर्ने क्रममा एक दिन सानुकान्छाले केशवकी बुहारीलाई भन्छन्, ‘म्याडम यहाँका चक्कु निकै भुत्ते भए, स्टोरबाट एउटा नयाँ चक्कु निकाल्दिनुस् न ।’
सानुकान्छाको माग बमोजिम बुहारीले चक्कु निकालिदिइन् । ४ भदौमा मृत फेला परेका केशवको घाँटी त्यही चक्कुले रेटिएको थियो ।
‘बाहिरबाट गएको मान्छेले भान्छामा चक्कु खोजेर हत्या गर्दैन’, केशवराज झाको हत्याबारे अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृत भन्छन्, ‘परिस्थितिजन्य प्रमाण हेर्दा सानुकान्छाले नै हत्या गरेको देखिन्छ ।’
केशव भुइँतल्लामा सुत्थे । छोरा–बुहारी भोलिपल्ट विदेश फर्कने भएपछि अघिल्लो दिन सानुकान्छासहित परिवारका सदस्यले सिरक–डस्ना पट्याएर श्रीमती ज्ञानु झाको कोठामा चाङ लगाएर राखेका थिए ।
त्यहाँ चाङ लगाएर राखेकामध्ये एउटा सिरानी केशवराजको हत्यापछि घाँटीमा राखिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ‘सिरानी कसरी त्यहाँ आयो ?’, अनुसन्धानमा संलग्न ती अधिकृत भन्छन्, ‘हामीले परिस्थितिजन्य प्रमाणलाई पुष्टि गर्ने अन्य सुराक भेटेर नै सानुकान्छलाई फेरि पक्रेका हौं ।’
केशव झा मृत फेला पर्नुअघि श्रीमती ज्ञानु झाले सानुकान्छालाई भनेकी थिइन्, ‘सरलाई बोलाऊ न ।’ त्यसबेला सानुकान्छाले यस्तो जवाफ दिए, ‘नाइँ म बोलाउँदिनँ, मलाई डर लाग्छ ।’
सानुकान्छाको मुखबाट एक्कासी ‘डर लाग्छ’ भन्ने शब्द कसरी निस्कियो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
सानुकान्छाको कोठामा कुकुर रोकिएपछि...
भिआइपी मर्डरको अनुसन्धान गर्नुपर्ने भएकाले प्रहरीले गत वर्ष अनुसन्धानको सबै विधि अपनाएको थियो । प्रहरीले घटनास्थलमा ‘डग स्निफिङ’ पनि गराएको थियो । त्यतिबेला कुकुर हत्या भएको कोठाबाट बाहिरिएर सानुकान्छा सुत्ने गेटसँगैको ‘पालेकोठा’को गेटमा आएर अडिएको थियो ।
गत वर्ष प्रहरी हिरासतबाट मुक्त भएपछि सानुकान्छाले आफूमाथि प्रहरीले दुव्र्यवहार गर्दै यातना दिएको आरोप लगाएका थिए । उनले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिँदै आफूलाई यातना दिने प्रहरी अधिकारीमाथि कारबाहीको मागसमेत गरेका थिए । गत वर्षको पोलिग्राफ टेस्टमा पनि सानुकान्छाले ‘ढाँटेको’ रिपोर्ट आएको थियो ।
केशवराजको टाउकोमा तीन ठाउँ चोट लागेको थियो भने घाँटीमा दुई ठाउँ चोट लागेको थियो । त्रिवि शिक्षण अस्पताल महाराजगन्जले दिएको पोस्टमार्टम रिपोर्ट अनुसार केशवराजको मृत्युको कारण ‘घाँटीमा जबरजस्ती गहिरो चोट’का कारण भएको उल्लेख थियो ।
कूटनीतिक क्षेत्रमा राम्रो दख्खल राख्ने केशवराज १९९३ देखि १९९७ सम्म फ्रान्सका राजदूत थिए । पूर्वराजदूतहरूको संगठनका निवर्तमान अध्यक्षसमेत रहेका उनले लामो समय चिफ अफ प्रोटोकलको भूमिका निर्वाह गरेका थिए ।


प्रतिकृया दिनुहोस