• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

सिरहामा नक्कली नोट छाप्ने मेसिनसहित तीन पक्राउ

सनराइज खबर

काठमाडौं । सिरहा जिल्लामा नक्कली नोट बनाउने मेशिन सहित तीन जना पक्राउ परेका छन् । जिल्लाको गोलबजारबाट शुक्रबार सशस्त्र प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोलबाजार– १२ का धिरज यादव र संजय राय तथा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय विमलेन्द्र कुमार नायक रहेका छन् ।

गोलबजारमा रहेको सशस्त्र प्रहरी सुरक्षा वेसले गोलबजार– ६ स्थित विरेन्द्र महतोको घरमा खानतलासी गर्दा मेशिन तथा नक्कली नोट सहित उनीहरुलाई पक्राउ गरेको हो । सो घरबाट ६ लाख ८४ हजार जाली नोट, उक्त नोट छाप्ने मेशिन, एक थान ल्यापटप र मोटर साईकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।  

सशस्त्र प्रहरी निरीक्षक रोशन थापाको नेतृत्वमा गएको टोलीले खानतलासी गर्दा १ हजारका दरका १ सय ४ तयारी जाली नोट र ६ सय ८० वटा ए फोर साइजको कागजमा छपाई गरी कटिङ्गका लागि तयार पारिएको जाली नोट फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

नोट छाप्ने मेशिन, जाली नोट र उक्त कार्यमा संलग्न तीन जनालाई थप अनुसन्धानको लागि सशस्त्र प्रहरीले नेपाल प्रहरीलाई बुझाएको छ ।

 

प्रतिकृया दिनुहोस