मृगौला तस्कर र प्रत्यारोपण गर्ने डाक्टरबीच कनेक्सन
काठमाडौं । ललितपुरका ५३ बर्षीय विष्णुगोपाल बतासको स्वास्थ्य अवस्था पूरै ठिक भैसकेको छैन् । ०७६ जेठमा चितवनको कलेज अफ मेडिकल साइन्स (पुरानो मेडिकल कलेज) मा मला प्रत्यारोपण गराएका बतास अहिले प्रहरीको निगरानीमा छन् ।
बतासको शरिरमा प्रत्यारोपण गरिएको मृगाैलाको तारतम्य मिलाउने डाक्टरसहित १२ जना ‘मृगाैला तस्कर’को आरोपमा प्रहरीको कस्टडीमा छन् । ०७६ जेठ २७ मा गरिएको सो प्रत्यारोपण ‘गैरकानुनी’ भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ ।
बतासले ओखलढुंगाका एक मजदूरसँग सो मृगाैला किनेका हुन् । उनले मृगाैला खरिदका लागि २८ लाख दिए, तर मिर्गौला बेच्नेको हातमा ८ लाख मात्रै पर्यो । बाँकी रकम डा. राकेश कुमार बर्मा सहितको समूहले बाँडीचुँडी खाएको मानव बेचविखन अनुसन्धान व्यूरोको अनुसन्धानबाट खुलेको छ ।
नोवेल अस्पतालमा कार्यरत डा.राकेश वर्मा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सदस्य पनि हुन् ।
मृगाैला किन्ने समूहले पीडितलाई १० लाख नगद सहित अन्य आश्वासन पनि दिएका थिए । भनेका थिए–‘एउटा मिर्गौला झिकेर केही फरक पर्दैन फेरी अर्को पलाउँछ ।’
तर, मृगाैला अर्को नपलाउने बरु शरिरमा एउटा मात्रै मिर्गौला भएको अवस्थामा धेरै काम गर्न नहुने सुनेपछि पिडीत प्रहरीकहाँ पुगे । त्यसपछि सो तस्करीको पटक्षेप भयो ।
घटना यसरी सुरु भयो
मृगाैला फेर्नुपर्ने भएपछि बतासको परिवारमा कसको मृगाैला लिने भन्नेबारे कुरा हुन्छ । बहिनी नाता पर्ने जमुना राज भण्डारीले सल्लाह दिइन्–‘आफन्तको किन लिने, किन्न पाइन्छ किनौं ।’
परिवार मृगाैला किन्न सहमत भए । अनि, जमुनाले भक्तपुरको जगाती बस्ने रेश्मा राईलाई सोधिन्–‘मिर्गौला बेच्ने कोही छ ?’ भोजपुर घर भएकी रेश्माले ओखलढुंगाका एक मजदुर चिनेकी थिइन् । जो, पैसा पाए किड्नी बेच्न चाहन्थे ।
किड्नी बेच्न राजि भएपछि कागजात बनाउने सिलसिलामा जोडिए नेपाल प्रहरीका निलम्बीत सई योगेन्द्रराज थपलिया र बहाल असई भिमप्रसाद खनाल । उनीहरु दुवैले मिर्गौला प्रत्यारोपण गरेका छन् ।
मृगाैला प्रत्यारोपण गरेकाले उनिहरु कस्तो कागजात चाहिन्छ भन्नेबारे जानकार थिए ।
तस्करीमा संलग्न समूहले ललितपुर महानगरपालिका–३ बाट कागजात बनाए । नाता प्रमाणित गर्दा वतासका भाञ्जा रिजनवीर जोशीको विवरण भरे, तर फोटोचाहिँ मृर्गौला बेच्न चाहने तेस्रो व्यक्तिको टाँसे ।
प्रत्यारोपण स्विकृत नहुँदै भर्ना
मिर्गौला तस्करीमा संलग्न समूहले अस्पतालसँगको मिलेमतोमा प्रत्यारोपण स्विकृती लिनुअघी नै मिर्गौला लिने दिनेलाई अस्पताल भर्ना गराएका थिए ।
त्यसमा डा. राकेश कुमार बर्माले भुमिका खेले ।
डा. वर्माले कलेज अफ मेडिकल साईन्सेस भरतपुरका प्रमुख संचालक अधिकृत डा. सुप्रभात श्रेष्ठसँगको मिलेमतोमा मिगौला प्रत्यारोपण गर्ने बतास र बेच्न चाहने दुवैलाई ०७६ जेठ २० मा भर्ना गराएका थिए ।
तर, प्रत्यारोपण स्विकृती समितीले जेठ २६ मा मात्रै प्रत्यारोपण अनुमती दियो । ०७६ जेठ २७ मा प्रत्यारोपण भयो । क्रस म्याचिङ लगायतका काम स्विकृती समितीले अनुमती दिनुअघी नै गरिसकेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
कलेज अफ मेडिकल साईन्सेसले प्रत्यारोपणका लागी आवश्यक कागजातको सक्कल प्रति नहेरी फोटोकपी राखेर अप्रेशन गरेको थियो ।
दलाल–डाक्टर कनेक्सन
मिर्गौला तस्करीमा संलग्न दलाल र डा. राकेश कुमार बर्माको बिचमा बाक्लो सम्पर्क भएको देखिएको छ ।
फोनको कलडिटेल रेकर्ड अनुसार डा. बर्मा र तस्करीमा संलग्न समूहका एकजना सदस्यसँग २६ पटक कुरा भएको देखिएपछि व्यूरोले उनलाई पक्रेको हो ।
डा. बर्माले दलाल समूहसँग आफु चितवनको कलेज अफ मेडिकल साइन्स (पुरानो मेडिकल कलेज)मा ‘पार्टटाइम काम गर्छु’ भनेर त्यहिँ अप्रेशन गर्न प्रस्ताव गरेको घटनाबारे अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतले जानकारी दिनुभयो ।
मिगौला प्रत्यारोपण गर्न डा.बर्मा काठमाडौंबाट चितवन गएको मानव बेचविखन अनुसन्धान व्युरोका प्रवक्ता (एसपी) गोविन्द थपलियाले बताउनुभयो ।
भरतपुरमा ०७२ पछि प्रत्यारोपण गरिएको थिएन् । ०७६ जेठमा डा. बर्माको समूहले नक्कली कागजातका आधारमा प्रत्यारोपण गरेको ८ महिना लामो व्यूरोको अनुसन्धानबाट थाहा भएको छ ।


प्रतिकृया दिनुहोस