गोदावरीमा मासु व्यापारीकाे हत्या कि आत्महत्या ?
काठमाडौं । गोदावरी नगरपालिकास्थित टौखेलमा मासु पसल चलाउने अमित शाही जेठ २७ गते राति मृत भेटिए । ललितपुरको गोदावरीमा परिवारसहित भाडाको घरमा बस्ने उनी सो घरको कम्पाउण्डमा मध्यराति मृत फेला परेका थिए ।
अमितको दायाँ र बायाँ हातको नाडीमा दुई–दुई वटा चोट लागेको छ । चारवटै चोटको साईज एउटै । धारिलो हतियार (मासु काट्ने दाउ)ले काटेको चोट समान प्रकृतिका छन् । घाँटीको दाहिने भागमा गहिरो चोट छ ।
चोटको प्रकृति र घटनास्थलको ‘क्राईम सीन’ विश्लेषण गरेर ‘हत्या कि आत्महत्या’ यसै भन्न सक्ने अवस्था छैन् ।
३८ वर्षीय अमितको थातथलो काठमाडौंको सतुंगल हो । टौखेलमा दुई छोरी र श्रीमतीसँगै उनी भाडाको घरमा बस्थे । उनको परिवार बस्ने घरको त्यो फ्ल्याटमा अर्को एक परिवार पनि बस्थे ।
कम्पाउण्डभित्र दुईवटा घर थिए, एउटा घर खाली थियो । कम्पाउण्डभित्र ६ आनामा फैलिएको खाली जग्गामा मकै र तरकारी समेत लगाइएको थियो ।
त्यो रात
अमितको जेठी छोरी छुट्टै कोठमा सुतिन् । १० वर्षीया कान्छी छोरी र श्रीमतीसँग टिभी हेरेर अमित राति १० बजेतिर ओछ्यानमा पल्टिए ।
११ बजेतिर छोरीले अमित उठेको थाहा पाएकी थिइन्, तर उनी निदाइहालिन् ।
मध्यरात १२ बजेतिर श्रीमती ब्यूँझदा किचनतर्फबाट बाहिर जाने ढोका खुल्लै थियो । बाहिर निस्केर हेर्दा अमित घर कम्पाउण्डको करेसावारीमा मृत अवस्थामा पल्टिरहेका थिए । रगतको भल बगेको थियो ।
रहस्यको गर्भमा
पाटन अस्पतालले दिएको पोष्टमार्टम रिपोर्टअनुसार अमितको शरिरमा ‘प्रतिरोध चोट’ छैन् । कसैले आक्रमण गरेमा हुने स्वभाविक प्रतिरोध चोट नभएको र घाँटीमा गहिरो चोट लागेर उनले ज्यान गुमाएको पोष्टमार्टम रिपोर्टमा लेखिएको छ ।
पोष्टमार्टम गर्ने चिकित्सकका अनुसार उनको घाँटी र नाडीमा काट्दा हतियारको धार ‘रगेटिएको’ छ । अमितको दुवै खुट्टा हलुका तरिकाले बाँधेको अवस्थामा शव फेला परेको थियो ।
मेडिकलमा घाउ लाग्दा रगत रोक्न प्रयोग गरिने सेतो व्याण्डेजले उनको खुट्टामा हल्का बाँधिएको थियो । सो ब्याण्डेज अमितको घरमै रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
‘व्याण्डेज घर भित्रैबाट लगेको हो’ महानगरीय प्रहरी वृत सातदोवाटोका डीएसपी मित्रबन्धु शर्मा भन्नुहुन्छ–‘व्याण्डेजले सामान्य तरिकाले बाँधिएको छ, अरु बाहिरी मान्छेले बाँधेको जस्तो देखिँदैन् ।’
कम्पाउण्डको गेट भित्रबाट लक गरिएको थियो । प्रहरीको अनुसन्धानमा गेटबाट दोस्रो व्यक्ति प्रवेश गरेको देखिएको छैन् । घटनास्थलको तरकारी र मकैको बोटमा धेरै क्षति नपुगेकाले अनुसन्धानको सुई ‘आत्महत्या’ तर्फ नै सोझिएको छ ।
आम्दानी खर्चको बेमेल
अमित खर्चिलो स्वभावका थिए । मासु पसलको आम्दानी र उनको खर्चको बीचमा तालमेल थिएन् । अनुसन्धान अधिकारीहरुले मृत्युको कारण खोज्दै जाँदा उनको ‘आर्थिक पक्ष’लाई पनि केलाएका छन् ।
मासु पसलबाट मासिक ३० हजार मात्रै आम्दानी हुने गरेको देखिएको छ । पसल र परिवार बस्ने घरको भाडा तथा दैनिक खर्च उनको आम्दानी भन्दा निकै बढी हुन्थ्यो । उनी आफू पनि खर्चिलो स्वभावका थिए ।
उनले मृत्यु रोज्नुको कारण ‘आर्थिक पक्ष’ पनि हुनसक्ने अनुसन्धान अधिकृतहरु बताउँछन् । तर, अनुसन्धान अधिकृतले किटेर भन्न सकेका छैनन् –‘हत्या कि आत्महत्या ।’
अमितको मोबाइलको फरेन्सिक जाँच रिपोर्ट आउँन बाँकी छ । ‘मोबाइलको फरेन्सिक जाँच रिपोर्ट आएपछि थप अनुसन्धान गर्छौ’ महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) टेक प्रसाद राई भन्नुहुन्छ–‘अहिले हत्या अथवा आत्महत्यामध्ये यो चाहिँ हो भन्नेमा हामी पुगिसकेका छैनौं ।’
यो पनि पढौं-


प्रतिकृया दिनुहोस