• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

लकडाउनमा राेकिएन काठमाडाैंमा चोरी डकैती

राजेश भण्डारी

काठमाडौं । सात जनाको गिरोहले चन्द्रागिरी नगरपालिका स्थित तीनथानामा राजेश मानन्धरको घर फोरे । लकडाउनको समयमा (१७ वैशाख) १७ लाख ६१ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरे । 

तीनथानमा चोरी हुनुभन्दा तीन दिनअघि काठमाडौं जिल्लाको प्रहरी प्रमुखको कमाण्ड समालेका थिए– आईजिपी ठाकुर ज्ञवालीका भाई श्याम ज्ञवालीले । 

काठमाडौं उपत्यकाको अपराध अनुसन्धान गर्ने युनिट अपराध महाशाखामा प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) दिपक थापाले कमाण्ड समालेको पनि तीन दिनमात्रै भएको थियो ।

अपराध महाशाखाले संगठित रुपमा डकैतीमा संलग्न रबिन तामाङ उर्फ छिरिङ नेतृत्वको गिरोहलाई समात्यो । महाशाखालाई त्यो अप्रेशनमा सघाएका थिए, वृत किर्तीपुर, थानकोट र ईलाका प्रहरी कार्यालय गजुरीले । 

तीनथानामा मात्र हैन्, लकडाउनपछि चोरीका घट्ना एकपछि अर्को बढ्न थालेका छन् । कोरोना महामारीबाट बच्न सरकारले लकडाउन गरेपछि केही दिन शून्यमा झरेको चोरीका घटना पछिल्लो समय भने ह्वात्तै बढेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् । 

मोवाईल देखि एटिएम सम्म 

०७६ वैशाखमा बौद्ध एरियाबाट ११ चोरलाई प्रहरीले हत्कडी लगायो । ती मध्ये दुईजना महिला चार्जमा राखेको मोवाईल चोर्दाचोर्दै प्रहरीको फन्दामा परे ।

सुकेधाराकी रेश्मा लामा र पर्सा घर भएकी मिना लामा उर्फ निर्मलालाई मोवाइल चोर्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत बौद्धका डिएसपी नविन कार्किले बताए । 

लकडाउनको बेला बन्द भएका पसल र मानिस नभएको घर–कोठा चोरको निशनामा पर्ने गरेका छन् । पसल चोर्दै गर्दा  गोरखा घर भएका आयुष थापा मगर र भोजपुरका सुरज मगर बौद्धबाट समातिए । 

वैशाख २७ मा कपुरधारामा नीति अर्यालको डेरा चोरी भयो । गहना र नगद गरी चार लाख रुपैयाँ हाराहारीको चोरीमा संलग्न अहिलेसम्म भेटिएका छैनन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार नीतिको कोठा मध्य दिउँसो चोरी भएको थियो । 

लकडाउनको बेला ह्याम्बर लिएर एटिएम मेशिन फुटाउन हिँड्ने पनि भेटिएका छन् । रातको समय (१७ जेठ)मा ठिमी नगरपालिका–६ भाहखा बजारमा एनआईसी एसिया बैंकको एटिएम फुटाउँदै गर्दा सिन्धुपाल्चोक कदम्बास घर भएका सचित तामाङलाई प्रहरीले समात्यो ।  

एटिएम फुटाउँदै गरेको सुराक पाएपछि इन्सपेक्टर राजिब गिरी कमाण्डको टोली सो बुथमा पुगेपछि नगद चोरी हुनबाट जोगिएको महानगरीय प्रहरी वृत ठिमीले जनाएको छ । 

धेरै चोरी काठमाडौंमा

उपत्यकाका तीन जिल्ला मध्ये लकडाउनमा सबैभन्दा धेरै चोरी काठमाडौंमा भएको पाइएको छ । लकडाउन अघि र पछि काठमाडौं उपत्यकाबाट आफ्नो डेरा–कोठा छाडेर गाउँ गएको हुनाले चोरीका कैयौं मुद्धा प्रहरीको जानकारीमा आएको छैन । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले दिएको तथ्यांक अनुसार प्रहरीको जानकारीमा आएको र मुद्धा दर्ता भएको संख्या हेर्दा भक्तपुर र लतिपुरमा चोरीका घटना फाट्टफुट्ट मात्रै देखिएका छन् । तर, काठमाडौंमा भने चोरी बढ्दै गएको छ । 

लकडाउनको अवधिमा उपत्यकाबाट सय जनाको हाराहारीमा चोर पक्राउ परेका छन् । 

दैनिक हातमुख जोर्ने समस्यको कारण चोरी र लुटपाट बढेको बताउँछन् पूर्व प्रहरी नायव महानिरिक्षक (डिआईजी) हेमन्त मल्ल ठकुरी । 

‘मानिससँग पैसा सकिँदै गएको छ, अहिले चोरीका घटना बढेको बाँच्नकै लागि हो’ मल्ल भन्छन्– ‘लकडाउन बढ्दै जाँदा जनजिविकाको लागि जे पाइन्छ त्यहि गर्न मानिस बाध्य हुन्छन्, त्यसैले चोरी र लुटपाट अझै बढ्छ ।’ 

महाशाखाको १५ एम्बुसिङ टोली

चोरी बढ्दै गएपछि महानगरीय अपराध महाशाखाले १५ वटा एम्बुसिङ टोली परिचालन गरेको छ । 

रात र दिनको समयमा परिचालन हुने त्यस्तो टोली सम्भावित घटना हुने क्षेत्रमा परिचालित हुने महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) दिपक थापाले जानकारी दिए । 

‘अपराध हुने सम्भावित ठाउँमा एम्बुसिङ गरेका छौं’ एसएसपी थापाले भने–‘हामीले परिचालन गरेको विशेष टोलीले चोर्दै गरेको अवस्थामा धेरै चोरलाई नियन्त्रणमा लिन सफल भएको छ ।’ 

प्रतिकृया दिनुहोस