भन्सार क्षेत्रमा मात्र सशस्त्रकाे पासो, छैन सीमामा चासो
काठमाडौं । भन्सार विन्दूहरुमा मात्र चासो राखेको सीमा सुरक्षामा बेवास्ता गरेको आरोप लाग्दै आएको सशस्त्र प्रहरी बल अहिलेसम्म लिपुलेक क्षेत्रमा खटिएको छैन । सरकारले नेपालको नियन्त्रण भएको ठाउँसम्म सुरक्षा पोष्ट निर्माण गर्नु भनेर बारम्बार निर्देशन दिए पनि सशस्त्रले बेवास्ता गर्दै आएको छ ।
‘शसस्त्र प्रहरी बलको जनशक्ति लिपुलेक भएको क्षेत्र दार्चुलाको सिमानाकामा खटिएको छैन’– सशस्त्र प्रहरी बलका एक अधिकारीले सनराइज खबरलाई बताए ।
लिपुलेक र कालापानी क्षेत्रको नेपालको नियन्त्रण रहेको सीमामा बस्नुपर्ने सशस्त्र प्रहरीको फौज दार्चुला सदरमुकाम खलंगामा बसेको छ ।
खलंगामा सशस्त्र प्रहरी बलका डिएसपीको कमाण्डमा एउटा गुल्म छ । त्यहाँ गुल्ममा हुनुपर्ने नफ्री खटाइएको शसस्त्र प्रहरीका प्रवक्ता (डिआईजी) प्रविण श्रेष्ठले बताए ।
नेपाल भारत सिमामा पर्ने दार्चुलाको छांग्रुमा बिओपी (बोर्डर आउट पोष्ट) राख्न सरकारले निर्देशन दिइसकेको छ । तर, बिओपी राख्न सशस्त्र प्रहरीको नेतृत्वले रहस्यमय तरिकाले आनाकानी गरिरहेको बुझिन्छ । तर, सशस्त्र मुख्यालयले भने प्राविधिक कठिनाई देखाएर पन्छने गरेको छ ।
डिआईजी श्रेष्ठले सनराइज खबरलाई बताए अनुसार सदरमुकामबाट धेरै टाढा पर्ने छांग्रुमा भौतिक पूर्वाधार निर्माण नभएको र सबै मौसममा बस्न नसकिने अवस्थाले गर्दा विओपी निर्माणमा कठिनाई भएको हो । तर, उता भारतले भने त्यस्तै कठिन अवस्थामा पनि सो क्षेत्रमा आफ्नो फौज राखेको छ ।
‘नेपाली सुरक्षाकर्मीले भौगोलिक कठिनाई र ठण्डी सहन नसक्ने, भारतीय सुरक्षाकर्मीले चाहिँ सक्ने भन्ने हुँदैन, त्यहाँ बिओपी राख्न सशस्त्र नेतृत्वले नै गम्भीर आनाकानी गरिरहेको छ’– सशस्त्रका एक पूर्व अधिकृतले सनराइज खबरलाई बताए ।
सीमा सुरक्षाका लागि अहिले उत्तरी सिमानाका ताप्लेजुङको किमाथांका बाहेक नेपाल–भारत सिमानामा १ सय १९ वटा बिओपी छ । बिओपीमा शसस्त्र प्रहरी इन्सपेक्टरले कमाण्ड गर्छन् ।
सीमा सुरक्षाको जिम्मा पाएको शसस्त्र प्रहरी बल दार्चुला सदरमुकाममै बस्ने भएपनि त्यहाँको सीमानाकामा भएका गतिविधिबारे सम्बन्धित निकायमा जानकारी गराइरहेको डिआइजी श्रेष्ठले बताए ।
उनले भने– ‘सिमानामा भएका गतिविधिबारे हामीले सम्बन्धित निकायमा जानकारी गराइरहेका हुन्छौँ ।’
दक्षिणमा १६ किलोमिटरमा बिओपी
उत्तरतर्फ किमाथांकामा मात्रै बोर्डर आउट पोष्ट खडा गरेको शसस्त्र प्रहरी बलले नेपाल–भारतको दक्षिणी सिमानामा १ सय १९ बिओपी खडा गरेको छ ।
इन्सपेक्टरले कमाण्ड गर्ने दक्षिण तर्फका विओपीले १५ देखि १६ किलोमिटरको क्षेत्र कभर गर्नुपर्छ । सशस्त्रका ती पूर्व अधिकारीले सनराइज खबरलाई बताए– ‘सीमा सुरक्षाको भावनाले नभएर भन्सार विन्दुमा हुने चलखेलको आकर्षणका कारण तराईका भन्सार नाका लक्षित बिओपी बनाइएको हो ।’
लिपुलेक कालापानीमा मात्र नभएर तराईका दर्जनौं ठाउँमा भारतले नेपाली सीमा मिचेको छ । ‘खासगरी भारतले बाँध बनाएर नेपाली क्षेत्र डुबानमा पारेको ठाउँमा पनि बिओपी राखिनुपर्ने हो, तर, त्यस्ता ठाउँमा बिओपी राख्न सशस्त्र प्रहरीको वर्तमान नेतृत्वलाई चासो छैन’– ती पूर्व अधिकारीले भने– ‘नेपाल भारत बीच हुने अवैध माल ओसारपसारमा केन्द्रीत हुने काम मात्र सशस्त्रको वर्तमान नेतृत्वबाट भइरहेको छ । अवैध माल ओसारपसार क्षेत्रमा पासो थापेर बस्नमै सीमित भएको छ सशस्त्रको गतिविधि ।’
भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले आफ्नो सीमा रक्षाका लागि प्रत्येक तीन किलोमिटरमा स्थायी संरचना सहित फौज खटाएको छ ।
गृह मन्त्रालयले सिमानामा बिओपीको संख्या २ सय २१ बनाउने निर्णय गरेको छ । सोही निर्णय अनुसार १३ ओटा बिओपी थप भइसकेको बताउँछन् डिआइजी श्रेष्ठ ।
‘बिओपी थप्नका लागि जग्गा खरिद र कतिपय ठाउँमा स्थायी संरचना निर्माण गर्ने काम भईरहेको छ’– डिआईजी श्रेष्ठले सनराइज खबरलाई बताए ।


प्रतिकृया दिनुहोस