सीमामा खटिएका सुरक्षाकर्मीकाे निधन
सप्तरी । सीमानाका बन्द र लकडाउन कार्यान्वयनका लागि सप्तरीस्थित नेपाल–भारत सीमामा खटिएका एक सशस्त्र प्रहरीको सोमबार निधन भएको छ ।
सप्तरीको बोदे बर्साइन नगरपालिका–९ देउरीमा खटिएका सशस्त्र प्रहरीका सहायक निरीक्षक ४० वर्षीय कुलबहादुर कार्कीको निधन भएको सशस्त्र प्रहरी गण ६ नम्बरले जनाएको छ ।
भारतसँग सीमा जोडिएको क्षेत्रमा ड्युटीमा खटिएका कार्की अचानक बेहोस भएर ढलेपछि तत्कालै उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल पुर्याइएको थियो ।
अस्पतालमा पुर्याएपछि उनलाई चिकित्सकले मृत घोषणा गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक राजु दाहालले जानकारी दिए ।
शवको राजविराज अस्पतालमा परीक्षणपश्चात दाहसंस्कारका लागि परिवारका सदस्यहरुले झापाको चन्द्रगढी लगेको उनले बताए । उच्च रक्तचापका कारण अचानक बेहोस भई निधन भएको अनुमान गरिए पनि शव परीक्षणको रिपोर्ट आएपछि मात्र कारण खुल्ने उनले बताए ।
-रासस


प्रतिकृया दिनुहोस