८ जनाकाे निधनपछि महोत्तरीका दुई बस्ती शाेकमा, स्थानीय त्रसित
महोत्तरी । गाउँमा दिनहुँ अज्ञात राेगबाट मानिसहरुकाे निधन हुने क्रम बढेपछि महोत्तरीको भङ्गाहा नगरपालिका–७ मेघनाथ गोरहन्ना र बर्दिवास नगरपालिका–१२ को मेघरोल शोकमा छ ।
शाेक मात्र हाेइन स्थानीय निकै त्रसित छन् । दुवै नगरपालिकाका यी बस्तीमा दिनहुँ मृतक थपिंदै गएपछि शोकसँगै त्रास छाएको हो । गत मंगलबार यता शुक्रबारसम्म त्यहाँ ८ जनाको अज्ञात रोगबाट ज्यान गएको छ । मंगलबार अघि पनि एक जनाको निधन भएको थियो ।
वैशाख ११ गते भङ्गाहा–७ मेघनाथगोरहन्नाका ४२ वर्षीय महेन्द्र चौधरीको निधन भयो । अत्यधिका रक्सी पिउने उनको मृत्युलाई स्वभाविक मानेका स्थानीयले गत मंगललबार यता बस्तीका एकपछि अर्कोकाे ज्यान गएपछि गाउँलेहरु शोकसँगै त्रासमा परेका हुन् ।
पछिल्लोपटक शुक्रबार बर्दिवास–१२ का ५५ वर्षीया मोमनीदेवी सरदार र २६ वर्षीय सुपीन्द्र मण्डलको निधन भएको हो । सो बस्तीकै ५२ वर्षीय गङ्गाराम सदाको गत बुधबार निधन भएको थियो ।
सो बस्तीसँगै जोडिएको भङ्गाहा–७ मेघनाथगोरहन्नामा मङ्गलबारयता पाँच जनाको निधन भइसकेको छ । भङ्गाहा–७ मा मङ्गलबार ५२ वर्षीय नथुनी चमार र ४० वर्षीय मोहन चौधरीको निधन भयो ।
लगत्तै बुधबार भङ्गाहा–७ कै ५४ वर्षीय लालबाबु सिंह र बिहीबार ५५ वर्षीय सुकदेव सिताइ महरा र ४२ वर्षीय सिकेन्द्र सिंहको निधन भएपछि दुवै बस्तीमा वैशाख ११ यता हालसम्म मृतकको संख्या नौ पुगेको हो । बर्दिवास–१२ र भङ्गाहा–७ झट्ट हेर्दा एउटै बस्ती देखिने जोडिएका बस्ती हुन् ।
मृतक सबै रक्सीका अम्मली भएका हुँदा विषाक्त मदिराको सेवनले निधन भएको त्यहाँका स्थानीयको अनुमान छ । गाउँ बस्तीमै अवैध रूपमा सञ्चालित भट्टीबाट उत्पादित मदिरा खाने बानी भएको हुँदा त्यसकै कारणले विभिन्न स्वास्थ्य समस्या बढेर नौ जनाकै निधन भएको बर्दिवास–१२ र भङ्गाहा–७ का वडाध्यक्ष क्रमशः रामकिशोर साह र वासुदेवसिंह थारुले बताए ।
'मृतक सबै रक्सीका अम्मली हुन्' बर्दिवास–१२ का वडाध्यक्ष साहले भने, “यिनीहरुको मृत्यु विषाक्त रक्सी सेवनले नै भएको हुनपर्छ, यद्यपि शव परीक्षण रिपोर्ट आएपछि यसको यकिन हुनेछ ।'
भङ्गाहा–७ का वडाध्यक्ष थारूले पनि सबैको मृत्यु अनियन्त्रित रक्सी सेवनबाटै भएको बताए । “मृत्युको निहुँ जे प्रमाणित भए पनि मृतकमा त्यो कारण भने रक्सीको अत्यधिक सेवनले नै भएको हुनपर्छ', थारूको भनाइ छ ।
मृतकमध्ये सिकेन्द्र सिंह र सुकदेब ९ सिताइ महराको शव परीक्षण गरिएको छ । परीक्षण रिपोर्ट आएपछि मृत्युको कारणबारे यकिन हुने जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख तथा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
पछिल्लो समयमा जताततै कोभिड–१९ को सन्त्रास छाएका बेला बस्तीमा भटाभट मर्नेको सङ्ख्या बढ्दै गएपछि यसबारे यकिन हुनुपर्ने स्थानीयवासी बताउँछन् । 'मृतक सबै पहिलेदेखि नै मदिराका अम्मली त हुन, तर अहिले संसारभरि नै कोरोना सन्त्रास छाएको हुँदा यहाँका सर्वसाधारणमा शोकसँगै त्रास छाएको छ”, भङ्गाहा–७ का राजनीतिक, सामाजिक अगुवा चन्द्रनारायण सिंहले भने, “राज्यले यसबारे आश्वस्त बनाउनुपर्छ ।'
यसैबीच जिल्ला प्रहरी कार्यालय महोत्तरीले मृतकमध्ये दुईको कोभिड–१९ सङ्क्रमण हो-होइन यकिन गर्न स्वाब सङ्कलन गरी पिसीआर परीक्षणका लागि प्रयोगशाला पठाइएको जनाएको छ । 'मृतकको आरडिटी जाँच परिणाम नेगेटिभ आएको छ”, प्रहरी उपरीक्षक अधिकारीले भने, 'अब पिसीआर जाँच र शव परीक्षण रिपोर्ट आएपछि यकिन हुनेछ ।'
शुक्रबारै ती बस्तीमा पुगेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सर्सती बुझ्दा मदिरा सेवन र मलेरिया मृत्युको कारण हुनसक्ने बुझिए पनि यसको यकिन जाँच हुनुपर्ने बताएका थिए ।
आफूले यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र प्रदेश नं २ सरकारको ध्यानाकर्षण गराएको सञ्चारकर्मीसँगको कुराकानीमा उनले जानकारी दिए ।
मृतक सबै गरिब परिवारका छन् । मृत्युको कारण जे भए पनि परिवारजनको पीडा हेरेर भङ्गाहाका नगरप्रमुख सञ्जीवकुमार साहले आफ्नो नगर क्षेत्रका मृतकको काजकिरीयावापत रु २१/२१ हजार उपलब्ध गराइने जानकारी दिए ।
मेघनाथ गोरहन्नामा एक साता पहिले मात्र सीतापुर, औरही र जमुनियाँ प्रहरी चौकीको संयुक्त गस्तीले १६ हजार लिटरभन्दा बढी मदिरा बनाइने कच्चा पदार्थ र चार भट्टी नष्ट गरेको थियो ।
–रासस


प्रतिकृया दिनुहोस