एसपीको रगतले जोगियो सुत्केरीको ज्यान
डाेटी । सशस्त्र प्रहरी बल, दिपायलको ३६ नं गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले दिएको रगतले एक सुत्केरीको ज्यान जोगिएको छ ।
गर्भमा जुम्ल्याह बच्चा भएकी सायल गाउँपालिका वडा नं ६ स्वाणाकी २४ वर्षीया सीता विकलाई बुढामगरले रगत दिएका हुन् । बच्चा पाउन नसकेपछि विकलाई दिपायलको राजपुरस्थित सुजङ अस्पताल ल्याइएको थियो ।
अत्याधिक रक्तश्रावका कारण ज्यान जोखिममा परेपछि सशस्त्र प्रहरीलाई खबर गर्दा गणपति बुढामगरले मङ्गलबार रगत दिएपछि विकको ज्यान बचेको सुजङ अस्पताल दिपायल राजपुरका प्रशासन प्रमुख अर्जुन बलायरले जानकारी दिए ।
जिल्लामा ब्लडबैंक नहुँदा रगतको आवश्यकता परे यहाँका अस्पताल तथा स्थानीयले नेपाल सेना, प्रहरी तथा सशस्त्र प्रहरीकामा धाउछन् ।
-/रासस


प्रतिकृया दिनुहोस