• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

प्रहरीलाई आएको त्यो फोन, जसले पक्रायो मास्कका कालाबजारिया

राजेश भण्डारी

काठमाडौं । शुक्रवार (३० फागुन) मा प्रहरी कन्ट्रोलको १०० नम्बरमा एउटा फोन आयो । फोन गर्नेले भने– ‘मसँग एउटा महत्वपूर्ण सूचना छ, प्रहरीलाई बताउन चाहन्छु ।’ 

प्रहरी कन्ट्रोलका कर्मचारीले सोधे– ‘तपाई कहाँ हुनुहुन्छ ?’ 

उनले भने– ‘नयाँ बानेश्वर ।’

कन्ट्रोलले महानगरीय प्रहरी वृत नयाँ बानेश्वरका प्रहरी नायव उपरिक्षक (डिएसपी) दुर्गाराज रेग्मीलाई सूचकको नम्बरमा सम्पर्क गर्न भन्यो । डिएसपी रेग्मीले तत्काल फोन गरेर सोधे–‘कस्तो सूचना हो ?’ 

उनले फोनमा भन्न चाहेनन् । भेटेरै भन्छु भने । त्यसपछि डिएसपी रेग्मी र ती मानिस नयाँ बानेश्वरको कुनै ठाउँमा भेट गरे । युवा थिए ती मानिस । उनले सूचना दिए– ‘५० हजार वटा भन्दा धेरै मास्क ब्ल्याकमा बेच्ने एउटा गिरोह काठमाडौंमा सक्रिय छ, म त्यो गिरोहलाई चिन्छु ।’ 

विश्व नै विपतमा परिरहेको बेला गिरोहले मास्कको कालो बजारी गरिरहेको ती युवालाई पटक्कै चित्त बुझेको थिएन । प्रहरीले कालोबजारीयालाई ठाउँको ठाउँ समात्न थालेको समाचार पढेका ती युवाले गिरोहलाई पक्रन प्रहरीलाई सहयोग दिने भए । 

त्यसपछि ती युवाको साथमा नयाँ बानेश्वर वृत्तका इन्स्पेक्टर केशर न्यौपाने सहिटको प्रहरी टिम गिरोहको पछाडि लाग्यो । 

अनि, शुरु भयो अनौठो ‘अप्रेशन मास्क’ ।

पाँच रुपैयाँको मास्कलाई ३३ रुपैयाँ

प्रहरीलाई सुराक दिने ती युवाले रामेछापका शिव खड्कासँग मास्क किन्न मोलमोलाई गरिरहेका थिए । मास्क कहाँ छ भन्ने चाहिँ खड्काले बताएका थिएनन् । उनी बताउन चाहँदैन थिए । 

गिरोहलाई पक्रन सबैभन्दा पहिले मास्क गोदाममा पुग्नुपर्ने थियो । ती युवाले सर्जिकल मास्क किन्ने भनेर आश्वाशन दिए । राम्रो मूल्य दिने पनि बताए । युवाले भने– ‘मास्क चीन पठाउने हो, गैह्रीगाउँ स्थित कार्गो गोदामसम्म मास्क डेलिभरी गरिदिनुपर्छ ।’ 

त्यो शर्तमा शिव सहमत भए, अब दररेटका कुरा आयो । ५० हजार मास्कको १६ लाख ५० हजार रुपैयाँमा किनबेच तय भयो । अर्थात्, एउटा मास्कको ३३ रुपैयाँ । बजारमा सो मास्क गोटाको पाँच रुपैयाँ पर्छ । 

शिव खड्काको समूहले मास्क दिनुअघि नै पैसा दिनुपर्छ भन्यो । १६ लाख ५० हजार रुपैयाँ तत्काल तयार गर्नुपर्ने भयो । प्रहरी रनभुल्लमा पर्‍यो । पैसा कहाँबाट ल्याउने ? 

ती युवाले नै प्रहरीलाई भने– ‘पैसाको ब्यवस्था म गर्छु ।’

उनले १० लाख रुपैयाँ ल्याए, त्यो रकमको बिटाको भिडीयो शिव खड्काको समूहलाई पठाइयो । 

किन्ने समूह अर्थात् कालोबजार विरोधी युवाको साथमा रहेको प्रहरी समूहले मास्क नदिई पहिले नै रकम दिन मानेन । अनि, फेरी सहमति भयो गैह्रीगाउँ स्थित कार्गो कार्यालयमा मास्क पुर्‍याएपछि रकम दिने । तर, त्यसअघि किन्ने समूहले सम्पूर्ण रकम झोलामा बोकर कालाबजारियासँगै जानुपर्ने भयो । यसो गर्दा मास्क कालोबजारी गर्नेको गोदाम देखिने भयो । 

त्यसपछि मास्क किन्ने र बेच्ने समूह स्वयम्भू स्थित चाँगल पुग्यो । त्यहाँ मास्क बेच्ने समूहका अरु पनि भेला भए । ती युवा र गिरोहका केही सदस्य मास्क भएको गोदामतिर गए । बाँकी रहेकाहरु नजिकैको पसलमा चिया खान थाले । मास्क किन्न आएकाहरु प्रहरी हुन् भन्ने चिया खाइरहेका गिरोहका सदस्यहरुले पत्तै पाएनन् ।

प्रहरीको अर्काे टोली पनि सुटुक्क त्यहाँ पुगिसकेको थियो । त्यहाँको एक घरमा रहेको गोदामबाट मोटरमा मास्क लोड गरियो । प्रहरी टोलीले मास्क लोड भएको हेरिरह्यो ।

मोटरमा मास्क लोड गरिसकेपछि कालाबजारियाको समूहले गैह्रीगाउँ पुगेर होइन तत्कालै रकम दिनुपर्ने माग राख्यो । त्यति मात्र होइन, नगद होइन इन्टरनेटको माध्यमबाट तत्कालै रकम दिनुपर्छ भन्न थाल्यो ।  

कसरी भुक्तानी गर्ने भनेर विवाद हुँदै थियो । विवादका बीच प्रहरीले समय पायो । प्रहरीका अगाडि सुनौला मौका आयो । त्यसपछि प्रहरीको एउटा टोलीले शिव खड्का सहित मोटरमा मास्क लोड गर्नेहरुलाई समात्यो । शिव खड्का सहितको टोली समात्ने प्रहरी टोलीले चियापसलमा रहेको टोलीलाई एसएमएस पठायो– ‘यता मान्छे पक्रियौं, त्यता एक्शन गर्नू ।’

एसएमएस पढेपछि चिया खाइरहेको प्रहरी टोली जुरुक्क उठ्यो । कसैले केही भेउ नपाउँदै चिया पसलको सटर झारिदियो । पसलका साहु साहुनी ‘ए, किन सटर लगाएको’ भन्दै थिए । सादा पोशाकको प्रहरी टोलीले भन्यो– ‘हामी प्रहरी हौं, उहाँहरुलाई पक्रन आएको ।’

यो सुनेर चिया खाइरहेको मास्क कालाबजारीया गिरोहका सदस्यहरु स्तब्ध भए । उनीहरुले भाग्ने कुनै ठाउँ थिएन । 

उता गोदामबाट मास्क निकाल्ने समूह पनि पक्राउ पर्यो, यता गिरोहका चिया खाने सदस्य पनि पक्राउ परे ।

पक्राउ परेको दुवै टोलीलाई प्रहरीले छुट्टाछुट्टै सोधपुछ गर्दा थाहा भयो– लोड भएको ५० हजार बाहेक २९ हजार थप मास्क गोदाममा छ । स्वयम्भू स्थित हरिकृष्ण डंगोल र आनन्दकाजी शाक्यको घरमा लुकाएर राखिएको थप २९ हजार मास्क पनि बरामद भयो । 

कालाबजारिया डन ‘मिन्टु’

मिन्टु लामा स्वयम्भूमा सर्जिकल सामानको ब्यापार गर्छन् । केही दिनअघि स्वयम्भू वृत्तमा कार्यरत प्रहरी नायव निरिक्षक (सई) उनको सर्जिकल स्टोरमा मास्क किन्न पुगे । तर, मिन्टुले ‘छैन’ भनेर फिर्ता पठाएका थिए । 

शनिवार साँझ तिनै मिन्टुलाई मास्क कालाबजारी गर्दागर्दै पक्राउ परेको देखेपछि ती सई चकित भए । 

काभ्रे घर भएका मिन्टु मास्क कालाबजारीका डन हुन् । उनले नै रामेछापका शिव खड्का सहितको समूहलाई प्रतिगोटा २५ रुपैयाँमा मास्क दिएका थिए । त्यसमा प्रतिगोटा आठ रुपैयाँ थप नाफा खाएर शिव खड्काको समूहले मास्क बेच्दै गर्दा प्रहरीको फन्दामा परेका थिए । 

मिन्टु, शिव लगायत सबैजनालाई प्रहरीले कालोबजारी गरेको अभियोगमा मुद्दा चलाएको छ । पक्राउ पर्नेमा काभ्रेका मिन्टु तामाङ, निशान तामाङ र मानकाजी लामा, रामेछापका अनिश कार्की, बाजुराका थुमराज उपाध्याय र नृप कार्की, काठमाडौंका उज्ज्वल अधिकारी तथा रामेछापका शिव खड्का छन् । 

यो पनि पढौं -

काठमाडाै‌मा ७९ हजार मास्क बरामद, कालोबजारी गर्ने ८ जना गिरफ्तार

ठाउँको ठाउँ पक्रन थाल्यो सरकारले कालाबजारीयालाई


 

प्रतिकृया दिनुहोस