सरकारको नीति तथा कार्यक्रम : स्वास्थ्य बिमा, नागरिक एप्स र नेपाल स्टक एक्सचेञ्जलाई पुनर्संरचना गरिने
काठमाडौं । सरकारले स्वास्थ्य बिमा, नागरिक एप्स र नेपाल स्टक एक्सचेञ्जलाई पुनर्संरचना गरी गर्ने भएको छ ।
यी सेवालाई पुनर्संरचना गरी सर्वसुलभ र भरपर्दो बनाइने भएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वास्थ्य बिमा सेवालाई सर्वसुलभ र भरपर्दो बनाउन बिमा कार्यक्रमलाई पुनर्संरचना गर्ने जानकारी दिनुभयो । ‘बिमा सेवालाई सर्वसुलभ र भरपर्दो बनाउन स्वास्थ्य बिमा कार्यक्रमलाई पुनर्संरचना गरी दिगो बनाइने छ’, उहाँले भन्नुभयो ।
स्वास्थ्य क्षेत्रका सबै सहायता र सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बिमामा आबद्ध गर्ने सरकारको कार्यक्रम छ ।
राज्यले दिने सबै सेवा सुविधालाई अनलाइनमा सेवा दिनका लागि नागरिक एप्सलाई बिस्तार गरिने भएको छ । ‘नागरिक एप्सलाई सेवा दिने गरी विस्तार गर्ने र सबै सेवा अनलाइनबाटै नागरिकलाई दिनका लागि नागरिक एप्सलाई बिस्तार गर्ने नीति तथा कार्यक्रममार्फत घोषणा गरेका छौँ’, राष्ट्रपतिले भन्नुभयो ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले ‘जेन जी’ पुस्तालाई प्राथमिकतामा राखिएको छ । ‘उद्यमशीलताको माध्यमबाट आन्तरिक रोजगारी सिर्जना गरी आय आर्जनका अवसरहरू वृद्धि गरिनेछ, सबै उद्यममा बिजनेस प्लान र त्यसको इको सिस्टम सुनिश्चित गरी जेन जी पुस्तालाई विशेष प्राथमिकतामा राखी युवा केन्द्रित स्टार्टअप कार्यक्रम सुरु गरिनेछ’, उहाँले भन्नुभयो ।
यसै गरी नेपाल स्टक एक्सचेन्ज पुनर्संरचना गरिने भएको छ । ‘धितोपत्र बोर्ड सुदृढीकरण तथा नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गरी पुँजी बजारको क्षमता एवम् पारदर्शिता वृद्धि गरिनेछ’, सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
फजुल खर्च रोक्न अनावश्यक सार्वजनिक संरचना खारेज गरिने भएको छ ।
यसै गरी कर प्रणालीमा संरचनात्मक सुधार गरिने भएको छ । यसका साथै वैदेशिक सहायताको आवश्यकताका आधारमा वितरण गरिने र वैदेशिक लगानीलाई पनि आवश्यक क्षेत्रमा मात्रै परिचालन गरिने भएको छ ।


प्रतिकृया दिनुहोस