सरकारको नीति तथा कार्यक्रम : स्रोत नभएका आयोजना स्थगन, त्रुटिपूर्ण आयोजना खारेज
काठमाडौं । सरकारले श्रोत नभएका आयोजना आउने आर्थिक वर्षमा स्थगन गर्ने भएको छ । त्यस्तै त्रुटिपूर्ण आयोजनाहरूलाई खारेज नै गर्ने भएको छ ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले घोषणा गरेका पूर्वाधार आयोजनाहरूलाई प्राथमिकिकरण गर्ने जानकारी दिनुभयो । ‘विगतमा सरकारले घोषणा गरेका भौतिक पूर्वाधार क्षेत्रका सबै परियोजना पुनःप्राथमिकीकरण गर्ने, आगामी आर्थिक वर्षमा सम्पन्न हुने गरी समय तालिका निर्धारण गर्ने आयोजनाहरू निर्माणाधीन र निर्माण गर्नुपर्ने सबै परियोजनाका लागि आवश्यक स्रोतको आकलन गरी आवश्यक स्रोत नभएका आयोजनाहरू स्थगन गर्ने, त्रुटिपूर्ण आयोजनाहरू खारेज गर्ने’ सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपतिले भन्नुभयो ।
उहाँले विगतमा सरकारले घोषणा गरेका भौतिक पूर्वाधार क्षेत्रका सबै परियोजना पुनःप्राथमिकीकरण गरिने जानकारी दिनुभयो ।
सरकाले पेट्रोलियम गाडीमा यूरो–६ लागू गर्ने भएको छ । ती गाडीहरूमा युरो ६ अनुरूपका पेट्रोलियम पदार्थ प्रयोग गर्नुपर्ने छ ।
यसै गरी सरकारले डिजिटल बैङ्क स्थापना गर्ने भएको छ । ‘सूचना प्रविधि पूर्वाधार विस्तार गरी डिजिटल अर्थतन्त्रको विकास र नगदरहित वित्तीय कारोबार अभिवृद्धि गरिनेछ, नीतिगत तथा कानुनी व्यवस्था गरी डिजिटल बैङ्क स्थापना गरिनेछ’, नीति तथा कार्यक्रममा उल्लेख छ ।
यसै गरी स्थानीय तहदेखि केन्द्रसम्मका सरकारी सेवामा इन्टर्न प्रयोग गरिने भएको छ ।
कृषि उद्यम परियोजनालाई धितो राखेर कृषि कर्जा दिइने भएको छ । त्यस्ता कर्जामा युवा पुस्तालाई समेटिने भएको छ ।
कृषिलाई प्रवर्द्धन गर्न भूमि बैङ्कलगायतका कार्यक्रम सञ्चालन गरिने भएको छ । कृषि कार्यमा हुने आकस्मिक क्षतिको परिपूरण गरिने भएको छ । नेपालमा नै प्राङ्गारिक मल उत्पादन गरिने र रासायनिक मलको बिक्री वितरण नयाँ तरिकाले सञ्चालन गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।


प्रतिकृया दिनुहोस