कक्षा सुरु नहुँदा बालबालिकाको पढ्ने बानी नै हट्यो : जनार्दन शर्मा
काठमाडौं । प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा आउँदा गाउँका विद्यार्थीहरू असुरक्षित भएको बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले शिक्षकहरू काठमाडौं आएपछि गाउँमा पढाइ नहुँदा बालबालिका भिर पाखामा जाने र लडेर घाइते हुने क्रम बढेको बताउनुभयो । आफू गाउँमा जाँदा धेरै बालबालिकाले लडेर घाइते भई पट्टी बाँधेको फेला पारेको उहाँले बताउनुभयो । कक्षा सुरु नहुँदा बालबालिकाको पढ्ने बानी हराएको उहाँले बताउनुभयो ।
शर्माले काठमाडौंमा शिक्षक आन्दोलनमा बल प्रयोग गर्दा धेरै शिक्षक र पत्रकार समेत घाइते भएका बताउनुभयो । यस प्रति उहाँले खेद प्रकट गर्नुभयो । ‘सरकारले शिक्षकहरूको माग पुरा गर्नुको सट्टा किन दमन गरिरहेको छ ?’, उहाँले प्रश्न गर्नुभयो ।
पुराना ऐन र कानुनले संघीय शासन व्यवस्था कार्यान्वयनमा नै समस्या आएको उहाँले बताउनुभयो । शिक्षकको कानुन देऊ भन्ने माग सम्बोधन गर्नुको सट्टा उनीहरू माथि दमन गर्नु गलत भएको उहाँको धारणा छ ।


प्रतिकृया दिनुहोस