तीनकुने घटना हिंसात्मक होइन : राजेन्द्र लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चैत्र १५ गते तीनकुनेमा भएको घटना हिंसात्मक घटना नभएको दाबी गर्नुभएको छ ।
राजावादीको सो आन्दोलनलाई हिंसात्मक प्रदर्शन भनेर गलत भाष्य निर्माण गरिएको उहाँको दाबी छ । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सुनियोजित रूपमा हिंसात्मक क्रियाकलापको लागि प्रदर्शन गरिएको प्रदर्शनकारीको साथबाट हतियार भेटिनु पर्ने उहाँको भनाइ छ । ‘चैत्र १५ गते जुन घटना तीनकुनेमा घट्यो । त्यसको एउटा भाष्य निर्माण गर्नुभएको छ–राजावादीको हिंसात्मक प्रदर्शन भनेर, त्यो हिंसात्मक प्रदर्शन थियो भने वा सुनियोजित रूपमा हिंसात्मक क्रियाकलापको लागि थियो भने प्रदर्शनकारीहरूबाट एउटा लाठीसम्म भेटियो ? हिंसात्मक हुनको लागि बन्दुक अन्य हतियार हुनुपर्ने थियो तर अहिलेसम्मको अनुसन्धानमा केही पत्ता लाग्यो त ?’ उहाँले भन्नुभयो ।
उहाँले सो घटनाको आयोग गठन गरेर निष्पक्ष छानबिन गर्न माग गर्नुभयो । त्यस्तै पक्राउ परेका रवीन्द्र मिश्र र दुर्गा प्रसाईँलाई रिहा गर्न पनि उहाँले माग गर्नुभयो ।
उहाँले बजेट अधिवेशन सुरु हुन लाग्दा बजेट फेरि पनि नेताहरूको गोजीबाट बन्ने र नेताहरूको निर्वाचन क्षेत्र केन्द्रित हुने भन्दै त्यसो नगर्न आग्रह गर्नुभयो । ‘बजेट अधिवेशन सुरु हुन लागेको छ, बजेट फेरी पनि नेताहरूको गोजीबाट बन्ने नै हो, नेताहरूको निर्वाचन क्षेत्र केन्द्रित हुने नै हो, तर पनि कामना गर्छु सुधार होस् ,बजेट पुस्तिका च्यात्नुपर्ने, विरोध गर्नुपर्ने नबनोस्, बजेट अहिलेको कमजोर अर्थतन्त्रलाई सम्बोधन गर्ने र सुधार गर्ने खालको बनोस्’, उहाँले भन्नुभयो ।
लिङ्देनले राजतन्त्रको कुरा गर्नु लोकतन्त्रको विरोध गर्नु नभएको पनि बताउनुभयो । राप्रपाले राजसंस्थाको कुरा गर्नु लोकतन्त्रको विरुद्धको हो भन्ने गलत भाष्य नबनाउन उहाँले आग्रह गर्नुभयो । आफूहरूले राजासमेत अटाउने लोकतन्त्रको कुरा गरेको उहाँले स्पष्ट पार्नुभयो ।


प्रतिकृया दिनुहोस