संसदीय अभ्यास र सहमतिबाट समस्याको समाधान खोज्न सकिन्छ : गोकर्ण विष्ट
काठमाडौं । प्रतिनिधि सभा सदस्य गोकर्ण विष्टले संसद्ले नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताउनुभएको छ ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै विष्टले विगतका अभ्यासबाट पाठ सिक्दै संसद्लाई सहमतिको थलो बनाउनु पर्ने बताउनुभयो । यतिबेला अराजकता मच्चाउन चाहनेले देशलाई विभाजन गर्न खोजेकाले त्यसलाई नियन्त्रण गर्दै अगाडि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
संसद् जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने सर्वोच्च थलो भएकोले त्यहाँ त्यही अनुसारको अभ्यास हुनु पर्नेमा उहाँले जोड दिनुभयो । असहमति र विरोधलाई संवैधानिक माध्यमबाट समाधान गर्नुपर्ने उहाँले बताउनुभयो । ‘दुनियाँका संसदीय अभ्यासमा सहमति हुन्छ, असहमति हुन्छ, तर संसदीय अभ्यास र सहमतिबाट समस्याको समाधान खोज्न सकिन्छ’, उहाँले भन्नुभयो ।
देशमा देखा पर्ने सम्भावित अराजकता नियन्त्रण गरी देशलाई सही बाटोमा अगाडि बढाइ जनतामा आशा जगाउनु पर्ने विष्टको धारणा छ । यस तर्फ संसद् केन्द्रित हुनु पर्ने उहाँको धारणा छ । लोकतन्त्रमा सबै समस्याको समाधान लोकतान्त्रिक व्यवस्थाले नै दिने उहाँले प्रष्ट पार्नुभयो ।
विष्टले केपी ओली नेतृत्वको सरकार राजनीतिक स्थिरताको लागि बनेको पनि बताउनुभयो । नेपाली कांग्रेस र एमाले बिच ७ बुँदे सहमतिका आधारमा यो सरकार बनेको उहाँले स्पष्ट पार्नुभयो ।
यो सरकार गयो गयो भनेर निराशा र अस्थिरता पैदा गरिने प्रयास भएको भए पनि त्यसमा कुनै सत्यता नभएको उहाँले स्पष्ट पार्नुभयो । दुई दल बिच कहीँ कतै समस्या छन् भने राजनीतिक संयन्त्रमा छलफल गरी समाधान खोज्नु पर्ने उहाँको धारणा छ । ‘कहिलेकाहीँ त यस्तो लाग्छ सत्तामा रहेका साथीहरू पनि सत्तामा हुनुहुन्छ कि प्रतिपक्षमा, चिन्न पनि गाह्रो हुने खालको अवस्था पैदा हुन्छ, यस प्रकारको अवस्थाबाट माथि उठौँ, गठबन्धन सरकारलाई मर्यादित ढंगले नै अगाडि बढौँ’, उहाँले भन्नुभयो ।
अहिले देशले आर्थिक चुनौती खेपिरहेको बताउँदै उहाँले यसलाई नियन्त्रण गर्न उत्पादन वृद्धिमा ध्यान दिनु पर्ने बताउनुभयो । यो कुरालाई सरकारको आउने नीति तथा कार्यक्रमले समेट्नु पर्ने उहाँको धारणा छ ।


प्रतिकृया दिनुहोस