• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

फास्ट ट्रयाक निर्माणको काम तीव्र गतिमा – नेपाली सेना

सनराइज खबर संवाददाता

काठमाडौं । काठमाडौं–तराइ/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको काम तीव्र गतिमा अगाडि बढेको नेपाली सेनाले जनाएको छ ।

सोमबार प्रतिनिधि सभा अन्‍तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा आयोजनाको पछिल्लो विवरण नेपाली सेना प्रस्तुत गरेकाे हाे।

आयोजना प्रमुख सहायक रथी शरदलाल श्रेष्ठले द्रुतमार्गको कटिङ तर्फ ८७ दशमलव ७१ प्रतिशत काम पूरा भएको समितिलाई जानकारी दिए । यस्तै फिलिङतर्फ २३.५३ प्रतिशत, रिङफोर्स तर्फ १२.२३ प्रतिशत, ग्याविङ वालतर्फ २६.३३ प्रतिशत, पाइप कल्भर्ट तर्फ ३८.१४ प्रतिशत र बक्स कल्भर्टतर्फ ३१.४२ प्रतिशत काम सम्पन्‍न भएको नेपाली सेनाले जनाएकाे छ ।

त्यस्तै फास्ट ट्रयाक निर्माणका क्रममा अहिलेसम्म १७ हजार नौ सय ४९ वटा रुख काटिएका छन् भने याे वर्ष सात सय ६० रुख काट्ने लक्ष्य रहेकाे जनाइएको छ । एउटा रुख काटेवापत् २५ रुख रोप्‍नु पर्ने कानुनी प्रावधान अनुसार तीन चरणमा वृक्षारोपणको काम पनि सुरु गरिएको सेनाले समितिलाई जानकारी गराएकाे छ ।

पहिलो चरणमा पाँच हजार, दोस्रो चरणमा एक लाख १० हजार र तेसो चरणमा दुई लाख १६ हजार रुख रोपिने बताइएकाे छ । 

त्यस्तैगरी रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले आयोजनाको ५४ किलोमिटर सडकखण्डमा काम भइरहेको जानकारी दिएका छन् । सरकारले फास्ट ट्रयाक निर्माणका लागि याे आर्थिक वर्षमा १५ अर्ब बजेट विनियोजन गरेको थियो । अहिलेसम्म कुल बजेटको सात अर्ब भन्दा बढी रकम खर्च भइसकेको उनले बताए । 

फास्ट ट्रयाक राष्ट्रिय गौरवको आयोजना भएकाले यसमा प्रयोग हुने निर्माण सामग्रीको गुणस्तर परीक्षण गर्न पाँच ठाउँमा ल्याव स्थापना गरेको सेनाले जनाएको छ ।


 

प्रतिकृया दिनुहोस