सरकारको प्रयास जनताको सेवामा समर्पित हुनुपर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबीबाट मुक्त हुन पाउनु जनताको अधिकार भएको बताउनुभएको छ ।
मधेस प्रदेश सभालाई मंलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको पहिलो अधिकार गरिबीबाट मुक्ति हुने भएको बताउनुभयो । गरिबीका अगाडि अरू अधिकारको कुनै अर्थ नहुने ओलीले स्पष्ट पार्नुभयो ।
ओलीले विकास र समृद्धिको यात्रामा मिलेर अघि बढ्न पनि आव्हान गर्नुभयो । ‘सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था हाम्रो उपलब्धि हो, यो उपलब्धिलाई केवल राजनीतिक उपलब्धिका मात्रै होइन जनताको सङ्घर्षबाट प्राप्त भएको उपलब्धिका रूपमा लिनुपर्छ, त्यस कारण हाम्रा प्रयासहरू जनताको सेवामा समर्पित हुनुपर्छ’, उहाँले भन्नुभयो ।
ओलीले जनताले परिवर्तनको उपलब्धि आफ्नो पेट, आङ र सन्ततिको हितमा खोज्ने उहाँले बताउनुभयो । ‘त्यस कारण हामीले जनताको जीवनमा लोकतन्त्र दिनुपर्छ, सम्पूर्ण सामाजिक जीवनमा लोकतन्त्र फुलाउनुपर्छ, त्यसका लागि समाजलाई विकास र सुशासनको गतिमा लानै पर्छ’, ओलीले भन्नुभयो ।
ओलीले मधेस प्रदेशको सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भाव अत्यन्त सुन्दर भएको बताउनुभयो । मधेसका अनुशासित, चेतनशील तथा विकासप्रेमी नागरिकले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमान कायम गर्न पुर्याएको योगदानको ओलीले उच्च प्रशंसा गर्नुभयो ।
संविधानले प्रदेशलाई स्वायत्तता प्रदान गरेको बताउँदै ओलीले स्वायत्तताको सही उपयोग गर्नु सबैको दायित्व भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले सङ्घ, प्रदेश र स्थानीय तह बिचको समन्वय, नीति निर्माण र विकासका कार्यलाई प्रभावकारी बनाउन प्रदेश सरकारको विशेष भूमिका रहने बताउनुभयो ।
.jpg)
ओलीले मधेस प्रदेश सम्भावनै सम्भावनाहरूको उर्वर भूमि कृषिका लागि उपयुक्त हुने र चुरेक्षेत्र जडीबुटी, जङ्गलदेखि पानीको अपार स्रोत रहेको बताउनुभयो । उहाँले सुनकोसी डाइभर्सन आयोजनाजस्ता कार्यक्रमले मधेसमा सिँचाइ भई राष्ट्रिय उत्पादन र उत्पादकत्व वृद्धि गर्ने र यस पहाड र तराईबिचको एकताभाव सृजना गर्ने बताउनुभयो ।
ओलीले औद्योगिक क्षेत्र, पेट्रोलियम पाइपलाइन, रेलमार्ग, एसियन हाइवे, हुलाकी सडक, दूतमार्ग, रामराजाप्रसाद सिंह अस्पताल मधेसको विकास र समृद्धिको आधार भएकाले आइसिपी तथा प्रमुख भन्सार नाका वीरगञ्जलाई आर्थिक केन्द्र तथा प्राचीन सहर जनकपुरधामलाई सांस्कृतिक पर्यटनको आधारको रूपमा विकास गर्न सकिने बताउनुभयो ।
आफूले रेलमार्गका कुरा गर्दा नपत्याएर विरोध गरेका स्मरण गर्दै उहाँले अहिले जनकपुरमा रेल यात्रा सहज भएको बताउनुभयो । गर्न चाहेदेखि गर्न नसकिने केही नभएको ओलीले स्पष्ट पार्नुभयो ।
ओलीले विकासको काममा सबै एक हुनु पर्नेमा जोड दिनुभयो । ‘प्रतिपक्ष रचनात्मक रहोस्, सरकारले पनि प्रतिपक्षलाई साथमै लिएर जाने सोच बनाओस्, यो प्रदेशलाई मुलुककै नमुना प्रदेश बनाउन सकियोस्’, ओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले राजर्षि जनक, माता सीता, महर्षि परशुराम, महाकवि विद्यापतिजस्ता विभूति र विद्वान एवं छिन्नमस्ता, गढीमाई लगायत देवदेवीहरूको भूमि रहेको मधेस प्रदेशले ती पुर्खाका ज्ञान र गौरवलाई स्मरण गर्नुपर्ने बताउनुभयो । उहाँले प्राप्त उपलब्धि र अबको आधुनिक विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
ओलीले सरकारले नगद बाँड्ने कुरालाई प्रोत्साहन नगर्ने बताउँदै पशुपालन, उपकरण र औजारका लागि अनुदान दिने नीतिमा जानुपर्नेमा जोड दिनुभयो । त्यसो भयो भने राज्यको अनुदान सदुपयोग हुने उहाँको धारणा छ ।


प्रतिकृया दिनुहोस