कसैले तोप हाने पनि सरकार ढल्दैन : प्रधानमन्त्री केपी ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्माले देश आफैँले बनाउनु पर्ने बताउनुभएको छ ।
लुम्बिनी प्रदेश सभाको बैठकमा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश बनाउने काममा सबै लाग्नु पर्ने बताउनुभयो । अर्काको देश सिँगारिदिएर आफ्नो देश नबन्ने उहाँले स्पष्ट पार्नुभयो । ‘देश बनाउन ढिला भइसक्यो, अब विलम्ब गर्नुहुन्न, आफ्नो देश बनाउने, आफ्नो देश सिँगार्ने, सकिन्छ, हामी सक्छौँ’, उहाँले भन्नुभयो ।
सरकारले पार्टी फुटाउन खोज्यो भन्ने हल्लाको पछाडि पनि कुनै सत्यता नरहेको उहाँले बताउनुभयो । अहिलेको सरकारलाई कसैलाई फुटाउने खुद्रा मसिना काम गर्ने फुर्सद नभको ओलीले स्पष्ट पार्नुभयो । ‘हामी पार्टी फुटाउने होइन, देश बनाउने अभियानमा लागेका छौँ’, उहाँले भन्नुभयो ।
यो सरकार ढलिहाल्छ भन्ने हल्ला नचलाउन पनि उहाँले आग्रह गर्नुभयो । यस्ता हल्लाले सरकार नढल्ने भए पनि नागरिकमा निराशा बढाउने ओलीले बताउनुभयो । त्यसैले नागरिकलाई निराश बनाउने हाल्ला नगर्न ओलीले सुझाव दिनुभयो । ‘१७ महिनालाई कसैले तोप हाने पनि सरकार ढल्दैन, १७ महिना पछि केही बल गर्नु पर्दैन, म आफैँ छाड्छु, त्यस पछि शेरबहादुर देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ’, उहाँले भन्नुभयो ।
.jpg)
ओलीले अहिले कांग्रेस र एमाले बिच कुनै बेमेल र शङ्काको वातावरण नभएको स्पष्ट पार्नुभयो । त्यसले सरकारमा कुनै समस्या नभएको ओलीले बताउनुभयो ।
संविधान संशोधन संविधान र व्यवस्थालाई बिगार्न नभई देश बनाउन र देशलाई राजनीतिक स्थायित्व दिनको लागि गर्न लागिएको उहाँले स्पष्ट पार्नुभयो । कांग्रेस र एमाले आफैँले मिलेर बनाएको संविधानलाई बिगार्ने कुरा हुन नसक्ने उहाँले बताउनुभयो । ‘हामीले बनाएको कुरा हामी रक्षा गर्छौँ, त्यसलाई समृद्ध बनाउँदै लैजान्छौँ’, उहाँले भन्नुभयो ।
ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई सहकार्यका साथ अघि बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो । चालीस वर्ष अगाडि छिमेकी चीन गरिब मुलुक भएको स्मरण गराउँदै उहाँले अहिले आफ्नै मेहनतले सम्पन्न भइसकेको ओलीले बताउनुभयो । ‘हामीले पनि प्रविधि प्रयोगको ल्याकत बढाएर आफैले देशको विकास गर्नुपर्छ’, उहाँले भन्नुभयो ।
केन्द्र सरकारले लगानी विस्तार र सूचना प्रविधि क्षेत्रको विकासका लागि विभिन्न अध्यादेश ल्याएको ओलीले जानकारी दिनुभयो । ‘आमरुपमा अध्यादेशप्रति उद्योगी, व्यवसायी र सूचना प्रविधि क्षेत्रमा नयाँ उत्साह ल्याएको छ, यसले स्वागत पाएको छ’, ओलीले भन्नुभयो ।


प्रतिकृया दिनुहोस