• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

आज संघीय संसद्का आठवटा समितिका बैठक बस्दै 

सनराइज खबर संवाददाता

काठमाडौं ।  बुधबार संघीय संसद् अन्तर्गत विभिन्न आठवटा समितिको बैठक बस्दै छन् । 

आज प्रतिनिधि सभाका ६ र राष्ट्रिय सभाअन्तर्गतका दुई गरी आठवटा समितिको बैठक एकै दिन बस्न लागेका हुन् ।   

अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै भएको छ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता सांसदहरूसँग छलफल हुँदै छ । 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बिहान साढे ११ बजे बस्दै छ । बैठकमा माउण्ट एभरेष्ट ब्रुअरी प्रालिमा कार्यरत श्रमिकको पारिश्रमिक सम्बन्धमा छलफल हुनेछ । 

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको पनि आज बैठक बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा समितिको आगामी कार्यक्रम तथा समसामयिक विषयमा छलफल हुनेछ । 

महिला तथा सामाजिक मामिला समितिमा समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा आगामी अनुगमन भ्रमण तथा कार्यक्रम सम्बन्धमा छलफल हुनेछ । 

राज्यव्यवस्था तथा सुशासन समितिको सवा १२ बजे बैठक बस्दै छ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल हुने भएको छ । 

आज दिउँसो साढे १ बजे बस्न लागेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ । 

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको ४५ औँ बैठक पनि आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा मस्यौदा प्रतिवेदनउपर छलफल हुनेछ । 

आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बस्दै छ । साढे ११ बजेका लागि बोलाइएको बैठकमा विद्यमान निर्वाचन प्रणाली र यसका विकल्पहरूमाथि छलफल गर्ने कार्यसूची रहेको छ । 

 

प्रतिकृया दिनुहोस