वाग्मती प्रदेश सभा बैठक आज बस्दै
काठमाडौं । वाग्मती प्रदेश सभाको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे बोलाइएको छ ।
माघ १८ गते सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठकमा तीन वटा विधेयक पेस गर्ने भनिए पनि बजेट कार्यान्वयनको सन्दर्भमा प्रतिपक्ष दल सहमत नहुँदा पेश हुन पाएको थिएन ।
मंगलबार बसेको सर्वदलीय बैठकमा आपसी असमझदारी सहमतिकै आधारमा समाधान गरी प्रदेश सभाको बैठक नियमित रूपमा सञ्चालन गर्न सहमति भएको छ ।
सभामुख भुवनकुमार पाठकको आह्वानमा मंगलबार बसेको सर्वदलीय बैठकमा प्रदेश सरकारको नीति कार्यक्रम र बजेटलगायत विषयमा देखिएका असमझदारीलाई सहमतिकै आधारमा टुङ्गो लगाउने तथा प्रदेशसभामा सरकारलाई विधेयक पेश गर्न दिने सहमति कायम भएको हो ।
प्रदेश सरकारले प्रदेशसभाको चालु हिउँदे अधिवेशनमा प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसायीसम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभा सचिवालयमा दर्ता गरेको छ ।


प्रतिकृया दिनुहोस