• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

नेपाल र चिनियाँ संसदीय प्रतिनिधि मण्डलबीच जेनेभामा भेटवार्ता

खबर स‌ंवाददाता

काठमाडौं । अन्तर-व्यवस्थापिका संघ (आइपीयू) को महासभामा सहभागी हुन स्वीजरल्याण्डकाे  जेनेभामा रहेकाे नेपाली र चिनियाँ  संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।

राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल नेतृत्वको नेपाली संसदीय टोली र चिनियाँ जनकंग्रेसका शिक्षा, विज्ञान, संस्कृति एवं स्वास्थ्य समिति उपाध्यक्ष थ्यान सुइजन नेतृत्वको चिनियाँ टोलीबीच मंगलबार दिउँसो जेनेभामा भेटवार्ता भएको हो ।

भेटमा नेपाल-चीन द्विपक्षीय सम्बन्ध, संसदीय अभ्यास, अनुभव आदान प्रदान र अन्तर्राष्ट्रिय मञ्चहरुमा सहकार्यका विषयमा छलफल भएको अध्यक्ष दाहालकाे सचिवालयले जनाएकाे छ ।

सो अवसरमा राष्ट्रिय सभा अध्यक्ष दाहालले नेपाल-चीन सम्बन्धको ऐतिहासिक आयामबारे चर्चा गर्दै नेपाल सदैव चीनको असल छिमेकीका रुपमा रहने बताउनुभयो । दुई देशबिच राजनीतिक सम्बन्ध मात्रै नभई जनस्तरमै सामाजिक, सांस्कृतिक सम्बन्ध मजबुत रहेको अध्यक्ष दाहालले बताउनुभयो ।

सन् २०२२ मा चिनियाँ जनकंग्रेसका तत्कालीन अध्यक्षले नेपाल भ्रमण गरेको स्मरण गराउँदै अध्यक्ष दाहालले दुई देशबीचका संसद्को सहकार्यले एक अर्काका अनुभव आदान प्रदान हुनुका साथै असल अभ्यास सिक्ने अवसर पनि हुने बताउनुभयो।

नेपालको विकासमा चीनको सहयोग रहँदै आएको भन्दै अध्यक्ष दाहालले आगामी दिनमा थप सहयोगको मात्रा बढ्ने विश्वास आफूहरुले लिएको बताउनुभयो। 

दुई देशबीच आपसी हितका विषयहरुमा क्षेत्रीय र बहुपक्षीय मञ्चमा सहकार्य भइरहेको भन्दै अध्यक्ष दाहालले नेपाल सदैव एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुभयो।

सो अवसरमा चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख समिति उपाध्यक्ष तियान सुइजनले चिनियाँ राष्ट्रिय जनकंग्रेस र नेपालको संसद्सँग विभिन्न क्षेत्रमा सहकार्य गर्न र संसदीय मैत्री समूहमार्फत् सम्बन्ध विस्तार गर्न चाहेको बताउनुभयो । दुई देशका संसद्को सहकार्य, भ्रमण आदान प्रदान र अवलोकनले संसदीय अभ्यास, परम्परा र प्रक्रिया बुझ्न सहज हुने र दुई देशको सम्बन्ध थप मजबुत बनाउन सहयोग गर्ने  उहाँले बताउनुभयो ।

चीनले नेपाललाई आफ्नो क्षमताले भ्याएसम्म र सम्भव भएसम्म सहयोग गर्न कुनै कसर बाँकी नराख्दै भन्दै उपाध्यक्ष थ्यानले बीआरआईमार्फत् सडक, रेल्वे लगायत पूर्वाधार विकासका योजनाहरुमा सहयोग गर्न चाहेको बताउनुभयो । 

भेटमा दुवै देशका प्रतिनिधिमण्डलमा सहभागी सांसद् तथा प्रतिनिधिको सहभागिता थियो ।

प्रतिकृया दिनुहोस