• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

भएकै जनशक्तिबाट स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने प्रयासमा छौँ : प्रदीप पौडेल

सनराइज खबर संवाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा सेवालाई प्रभावकारी बनाउनु पर्ने बताउनुभएको छ । 

स्वास्थ्यका लागि व्यवस्था गरिएका सबै सेवा र सहयोग एकीकृत प्रणालीमा ल्याउने हो भने स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन सकिने बताउनुभयो । व्यवस्थापिका संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले छरिएका सुविधा प्रभावकारी नहुने बताउनुभयो । 

राज्यको मातहत रहेका सबै बिमा तथा खर्च रकम एउटै प्रणालीमा राख्न सकिए अहिले भन्दा श्रोत बढ्ने बताउँदै उहाँले सबै कर्मचारीले तलबको केही प्रतिशत स्वास्थ्य बिमामा आबद्ध भएर योगदान गर्न सके श्रोत पनि बढ्ने बताउनुभयो ।  पौडेलले राज्यको योगदान रकम समेत थप गरेर कर मार्फत श्रोत थपेमा स्वास्थ्य बिमा प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो । 

पौडेलले मन्त्रालय श्रोत सुनिश्चिततासँगै बिमाको प्रणालीमा देखिएको गलत दाबीजस्ता समस्या समेत सुधार गर्ने काममा लागिरहेको भन्दै त्यसो भएमा स्वास्थ्य बिमा प्रभावकारी बन्ने बताउनुभयो । हालको १ लाख बिमा रकमले मात्र सेवा प्रभावकारी नहुने भन्दै उहाँले सेवामा सुधार गरी श्रोतसमेत थप गर्न सके ५ लाखको बिमा बनाउन सकिने बताउनुभयो । त्यसै विश्वासका आधारमा आफू लागि परेको पौडेलले जानकारी दिनुभयो । 

पौडेलले यस कार्यमा सहयोगका लागि संसदीय समितिसँग समेत आग्रह गर्नुभयो । अस्पतालहरूमा जनशक्ति अभावको समस्या रहेको पौडेलले नयाँ खोल्नुभन्दा सातवटै प्रदेशका अस्पतालमा विशिष्टिकृत सेवा थप गरेर भएकै जनशक्तिबाट विशिष्ट उपचार दिने प्रयास थालिएको बताउनुभयो । 

स्वास्थ्य जनशक्ति अभावको समस्या समाधान गर्नका लागि दरबन्दी थप गर्न प्रस्ताव लगिए पनि अर्थ मन्त्रालयबाट स्वीकृति नआउने गरेको उहाँले गुनासो गर्नुभयो । पौडेलले दरबन्दी थप गर्न नसक्दासम्म भएकैलाई बढी सुविधा दिएर नागरिकलाई सेवा दिने प्रयासमा सरकार लागेको बताउनुभयो । 

पौडेलले संघ मातहतका अस्पतालको सेवा प्रभावकारी गराउन प्रयासले काम थालेको बताउनुभयो । लाइन घटाउनका लागि अनलाइन प्रणाली सुरु भएको पौडेलले जानकारी दिनुभयो । 

अपरेसनको कुर्ने समय घटाउनका लागि पनि  भएकै जनशक्तिलाई सुविधा तथा सिफ्ट बढाउने प्रयास थालिएको पौडेलले बताउनुभयो । 

 

प्रतिकृया दिनुहोस