संघीय संसद्का पाँचवटा संसदीय समितिका बैठक बस्दै
काठमाडौं । संघीय संसद्अन्तर्गतका पाँचवटा संसदीय समितिका बैठक आज बस्दै छन् ।
संघीय संसद् सचिवालयका अनुसार आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संसदीय सुनुवाइ समितिका बैठक बस्न लागेका हुन् ।
शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ ।
संसदीय सुनुवाइ समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विभिन्न देशका लागि प्रस्तावित नेपाली राजदूतहरूको सुनुवाइ हुनेछ ।
बिहान ११ बजे नै बस्ने कानन, न्याय तथा मानवअधिकार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल हुनेछ ।
विधायन व्यवस्थापन समितिको बैठक दिउँसो दुईबजे सिंहदरबारमा बस्दै छ । बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक २०८१ माथि विज्ञसँग छलफल गर्ने कार्यसूची छ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो दुईबजे बस्दै छ । बैठकमा समितिको आर्थिक वर्ष २०८०–८१ को पाँचौँ वार्षिक प्रतिवेदनमाथि छलफल हुँदै छ ।


प्रतिकृया दिनुहोस