• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

चार देशका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

खबर स‌ंवाददाता

काठमाडाैं । संसदीय सुनुवाइ समितिले इजरायल, मलेसिया, पाकिस्तान र पोर्चुगल गरी चार देशका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ गरेको छ ।

साेमबार सिंहदरबारमा बसेकाे समितिको बैठकले  इजरायलका लागि प्रस्तावित राजदूत  प्रा. धनप्रसाद पण्डित, मलेसियाका लागि डा. नेत्रप्रसाद तिमिल्सेना, पाकिस्तानका लागि रिता धिताल र पोर्चुगलका लागि प्रस्तावित प्रकाशमणि पौडेलको संसदीय सुनुवाइ गरेको हो ।

बैठकमा उहाँहरूले आ-आफनो अनुभव, सोच र अवधारणा प्रस्तुत गर्नुभएकाे थियाे ।

यसअघि आइतबार बसेको समितिको बैठकमा चीनका लागि प्रस्तावित राजदूत प्रा. डा. कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनका लागि डा.शैल रुपाखेती र भारतका लागि डा.शंकर शर्मा माथि सुनुवाइ भएकाे थियाे ।

गत साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकका लागि १७ जना राजदूत सिफारिस गरेको थियो ।

सरकारले कतारका लागि रमेशचन्द्र पौडेल, रुसी महासंघका लागि जंगबहादुर चौहान र साउदी अरबका लागि नरेशविक्रम ढकाललाई राजदूतमा प्रस्ताव गरेकाे छ । दक्षिण अफ्रिकाका लागि प्रा. डा. कपिलमान श्रेष्ठ, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फेलाई पनि राजदूतमा सिफारिस गरेकाे छ । स्पेनका लागि सनिल नेपाल, श्रीलंकाका लागि रामकृष्ण भट्टराई, संयुक्त अधिराज्यका लागि चन्द्रकुमार घिमिरे र संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मीको नाम सिफारिस गरिएको छ ।

उहाँहरु सबैकाे संसदीय सुनुवाइ हुनेछ । सुनुवाइ समितिबाट नाम अनुमाेदन भएपछि राष्ट्रपति रामचन्द्र पाैडेलले उहाँहरुलाई राजदूत नियुक्त गर्नुहुनेछ ।

प्रतिकृया दिनुहोस