प्रस्तावित चार देशका राजदूतको संसदीय सुनुवाइ, कसले के भने ?
काठमाडौं । संसदीय सुनुवाइ समितिले चीन, भारत, जर्मनी र डेनमार्कका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ गरेको छ ।
आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा चीनका लागि प्रस्तावित राजदूत प्रा. डा. कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनका लागि डा.शैल रुपाखेती र भारतका लागि डा.शंकर शर्मा माथिको सुनुवाई सकिएको हो ।
सुनुवाईको क्रममा चीनका लागि प्रस्तावित राजदूत ओलीले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वतन्त्रता, राष्ट्रको समृद्धि र विकासका लागि आफ्नो दायराभित्र रही कूटनीतिक पहलमार्फत् देश र जनताको हितमा कार्य गर्ने प्रतिबद्धता जनाउनुभयाे । 'नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वतन्त्रता, राष्ट्रको समृद्धि र विकासका लागि आफ्नो दायराभित्र रही कूटनीतिक पहलमार्फत् देश र जनताको हितमा कार्य गर्नेछु'- उहाँले भन्नुभयाे । बीआरआईबारे सरकारले लिने निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता पनि ओलीले जनाउनुभयाे ।
भारतका लागि राजदूतमा प्रस्तावित डा. शर्माले आफ्नो कार्ययोजना पेस गर्दै नेपाल सरकारद्वारा प्रदान गरिएको दिशानिर्देश अनुसार काम गर्ने प्रतिबद्धता जनाउनुभयाे । विभिन्न स्तरहरुमा उच्च स्तरिय भ्रमण र विशेषज्ञहरुको नियमित आदानप्रदान जारी राख्न मद्दत गर्ने उहाँले बताउनुभयाे ।' नेपाल सरकारद्वारा प्रदान गरिएको दिशानिर्देश अनुसार काम गर्नेछु, विभिन्न स्तरहरुमा उच्च स्तरिय भ्रमण र विशेषज्ञहरुको नियमित आदानप्रदान जारी राख्न मद्दत गर्ने साथै द्विपक्षीय सम्बन्धलाई सम्बोधन गर्न र सुधार गर्न विद्यमान लगभग तीन दर्जन सरकारी स्तरका द्विपक्षीय संयन्त्रहरुको बैठकहरु छिटो गर्ने प्रयास गर्नेछु'- शर्माले भन्नुभयाे ।
डेनमार्कका लागि प्रस्तावित राजदूत तुलाधरले जेन्डर जस्टिस क्लाइमेट चेञ्ज लगायत क्षेत्रमा पनि कूटनीतिक पहल गर्ने बताउनुभयाे । डेनमार्कले आफू राजदूत भएमा डेनमार्क नर्वे फिनल्यान्ड स्विडेनलगायत देशमा उच्चस्तरीय भ्रमणलाई अगाडि बढाउन कुटनीतिक पहल गर्ने पनि तुलाधरले बताउनुभयाे ।
बैठकमा जर्मनको राजदूतमा प्रस्तावित डा.शैल रुपाखेतीले पनि आफ्नो कार्य योजना पेस गर्नुभयाे । उहाँले आफू राजदूत पदमा नियुक्त भए आर्थिक, कूटनीति, निर्यात प्रवर्द्धन, लगानी प्रवर्द्धन प्रविधि हस्तान्तरण लगायतमा महत्त्वपूर्ण काम गर्ने प्रतिवद्धता जनाउनुभयाे ।
सरकारले इजरायलका लागि प्रा. धनप्रसाद पण्डित, मलेसियाका लागि डा. नेत्रप्रसाद तिमल्सिना र पाकिस्तानका लागि रीता धिताल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसी महासंघका लागि जंगबहादुर चौहान र साउदी अरबका लागि नरेशविक्रम ढकाललाई राजदूतमा प्रस्ताव गरेकाे छ । दक्षिण अफ्रिकाका लागि प्रा. डा. कपिलमान श्रेष्ठ, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फेलाई पनि राजदूतमा सिफारिस गरेकाे छ । स्पेनका लागि सनिल नेपाल, श्रीलंकाका लागि रामकृष्ण भट्टराई, संयुक्त अधिराज्यका लागि चन्द्रकुमार घिमिरे र संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मीको नाम सिफारिस गरिएको छ । उहाँहरु सबैकाे संसदीय सुनुवाइ हुनेछ । सुनुवाइ समितिबाट नाम अनुमाेदन भएपछि राष्ट्रपति रामचन्द्र पाैडेलले उहाँहरुलाई राजदूत नियुक्त गर्नुहुनेछ ।


प्रतिकृया दिनुहोस