संघीय सांसदका सातवटा संसदीय समितिका बैठक आज बस्दै
काठमाडौं । संघीय संसद्अन्तर्गत आज सातवटा संसदीय समितिका बैठक बस्दै छन् ।
संघीय संसद् सचिवालयका अनुसार आज अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, अनुगमन तथा मूल्याङ्कन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दै छन् ।
अर्थ समितिको बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । बैठक बिहान नौबजेबाट सुरु भएको छ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठक बिहान साढे ११ बजे बस्दै छ । बैठकमा तयारी पोसाक निर्यातमा देखिएका नीतिगत समस्याका सम्बन्धमा नेपाल तयारी पोसाक उद्योग संघका प्रतिनिधिहरूसँग छलफल हुने संघीय संसद् सचिवालयले जनाएको छ ।
त्यसै गरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो दुई बजे बस्दै छ । बैठकमा वन तथा वातावरण मन्त्रालयबाट यस आर्थिक वर्षमा सम्पादन हुने कार्यक्रम, कार्यसम्पादनमा रहेका समस्या र मन्त्रालयको बजेटका विषयमा छलफल हुनेछ ।
बैठकमा निर्माण सम्पन्न भइसकेका विभिन्न हाइड्रोपावरको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको स्वीकृतिमा देखिएका समस्या र रोल्पा जिल्ला परिवर्तन गाउँपालिकामा भोग चलनमा रहेको आबादी जग्गा दर्ता गर्ने क्रममा देखिएको समस्याका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालय विधेयक, २०७९ का सम्बन्धमा उपसमितिको प्रतिवेदन पेस गरी त्यसमा छलफल हुनेछ । बैठक दिउँसो तीन बजे बस्नेछ ।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ ।


प्रतिकृया दिनुहोस