संघीय संसद्का चार वटा संसदीय समितिका बैठक बस्दै
काठमाडौं । संघीय संसद्का चारवटा संसदीय समितिका बैठक आज बस्दै छन् ।
आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन, संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपाल अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा छलफल हुने छ । सो स्तरोन्नतिले नेपाललाई पार्ने प्रभाव/असर, चुनौती प्राप्त हुने अवसर एवं यस सम्बन्धमा नेपाल सरकारबाट भएका कामकारबाही र प्रगतिको अवस्था बारेमा छलफल गर्ने कार्यसूची रहेको छ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको पाँचौँ वार्षिक प्रतिवेदनका सम्बन्धमा छलफल हुनेछ ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्र, बौद्ध मेलम्ची घ्याङ्ग गुठीको जग्गाको अवस्था, समस्या र चुनौती, बौद्धनाथ क्षेत्रको पुजारी नियुक्ति, आय आर्जन र भेटी व्यवस्थापनलगायत विषयमा छलफल हुनेछ ।
सबै समितिका बैठकहरू बिहान ११ बजे सिंहदरबारमा बस्ने भएका छन् ।


प्रतिकृया दिनुहोस