अग्नि सापकोटाको अबकाे बाटोः महरा बन्ने कि नेम्वाङ ?
काठमाडौं । अग्निप्रसाद सापकोटा अग्लो जिउ डालका छन् । वेलायतमा संसद्को प्रारम्भिक कालमा असाध्यै ठूलो आवाज हुने र अग्ला मानिसलाई मात्र सभामुख बनाइन्थ्यो ।
रोचक छ, संसद्मा सभामुखको इतिहास । वेलायतमा काटिन मारिन पनि तयार बन्नुपर्थ्याे सभामुखले । त्यसबेला माइक स्पीकर थिएन, त्यसैले ठूलो आवाज भएको अग्ला मानिसलाई सभामुख बनाइन्थ्यो । संसद्को निर्णय चित्त नबुझेर बेलायतका राजाले सभामुखलाई मार्ने आदेश दिएको इतिहास पनि छ ।
नेपालमा चाहिँ सभामुखको परम्परा कस्तो छ ? एक विवरण :
कृष्णप्रसाद भट्टराई
०१६ साल असारमा मध्यराति ठिक १२ बजे तत्कालीन संसद्को बैठक बस्यो । प्रतिनिधि सभाका सभामुख बने कृष्णप्रसाद भट्टराई । त्यसबेला कांग्रेसले दुई तिहाई बहुमत ल्याएको थियो । भट्टराईले चुनाव हारेका थिए । चुनाव हारेकालाई पनि सभामुख बनाउन सकिने व्यवस्था थियो । त्यसैले वीपी कोइरालाले भट्टराईलाई सभामुख बनाए ।
चुनाव हारेका व्यक्तिलाई सभामुख बनाइँदा प्रतिनिधि सभाको गरिमामा भने आँच पुग्यो । तर, सभा सञ्चालन गर्ने भट्टराईको शैली भने गज्जब थियो । उनी रसिक थिए, ठट्यौला थिए, अध्ययनशील थिए, सभा निरस नहोस् भन्नेमा ध्यान दिइरहन्थे । सांसद्हरुलाई संसदीय तौरतरिका र व्यवहार सिकाइरहन्थे ।
संसद्मा कस्ता शब्द बोल्न हुन्छ र कस्ता शब्द बोल्न हुँदैन भन्ने बताइरहन्थे । उनले कैयन शब्दलाई असंसदीय घोषित गरिदिएका थिए । सभामुखले असंसदीय घोषणा गरेका शब्द सांसद्हरुले सभामा बोल्न पाउँदैनन् ।
भट्टराईले संसदीय इतिहास र तौरतरिकाबारे सांसद्हरुलाई ज्ञान होस् भनी वेलायत तथा भारतबाट धेरै किताब झिकाएर पुस्तकालयमा राख्न लगाएका थिए । ती पुस्तक सांसद्लाई पढ्न प्रेरित गर्थे ।
प्रतिपक्षी सांसद्लाई उनी उच्च प्राथमिकता दिन्थे । त्यसबेला प्रतिपक्षी थियो गोरखा परिषद् । प्रतिनिधि सभामा गोरखा परिषद्का सांसद्लाई बोल्न भट्टराई प्राथमिकता दिन्थे, तर सत्तापक्षका सांसद्हरु यो कुरा मन पराउँदैनथे । भट्टराईको भनाइ थियो – सरकार सत्तापक्षको, सदन प्रतिपक्षको ।
दमननाथ ढुंगाना
०४८ सालमा सभामुख बनेका दमननाथ ढुंगाना स्मरणीय सभामुख हुन् । उनी भट्टराईकै पदचिन्हमा हिँडे । उनले प्रतिनिधि सभा बैठकबाटै घोषणा गरे – ‘सरकार सत्तापक्षको, सदन प्रतिपक्षको ।’
सभालाई उनी पूर्ण नियन्त्रणमा राख्थे । उनी सभामा ठाडै आदेश दिन्थे र पालना गराउँथे । संसद्ले असल नजीर स्थापित गर्नुपर्छ भन्नेमा उनको ध्यान रहन्थ्यो । एकपटक कुनै एउटा विधेयक पारित गर्ने क्रममा सत्तापक्ष अर्थात् नेपाली कांग्रेसका एक सांसद्ले ‘हुन्छ’ भन्नुपर्नेमा ‘हुँदैन’ भने । प्रतिपक्षी एमालेका सांसद्हरुले हुँदैन भनेर मत दिइसकेपछि त्यसलाई फेर्न पाइँदैन भने ।
निकै बेरको होहल्लापछि दमननाथले भने– ‘उहाँले जानाजान हुँदैन भन्नुभएको होइन, भुलबस भन्नुभएको हो । उहाँलाई सच्याउन नदिने भन्नुहुन्छ भने म तयार छु । तर, भविष्यमा तपाईंहरु पनि यसरी नै भुल्न, झुक्किन सक्नुहुनछ । त्यसबेला के गर्ने ?’
उनले भने– ‘हामीले यस्तो नजीर बसाउनुपर्छ जसले भविष्यमा असल परम्परा स्थापित गरोस् ।’ प्रतिपक्षी एमालेका सांसद्हरु मौन भए । त्यसपछि सभामुखको आसनबाट दमननाथले घोषणा गरे– ‘भुलबस मत दिइएमा सच्याउन पाइने नजीर आजबाट स्थापित भयो ।’
दमननाथको पालामा कुर्सी काण्ड भएको थियो । प्रधानमन्त्री थिए गिरिजाप्रसाद कोइराला र राजा थिए वीरेन्द्र । संसद्मा भएको कार्यक्रममा राजा निम्त्याइएका थिए । सिंहदरबारस्थित प्रतिनिधि सभा भवनको प्राङ्गणमा राजा र सभामुख दमननाथ ढुंगानाका लागि बस्ने कुर्सीको व्यवस्था थियो तर प्रधानमन्त्रीका लागि थिएन ।
यसले ठूलो हंगामा भयो । दमननाथले सभामुख पदबाट राजीनामा दिए । तर, उनले राजीनामा पार्टीमा दिएका थिए । राजीनामाको अर्थ भएन ।
दमननाथ संसदीय आदर्शका पक्षपाती थिए ।
रामचन्द्र पौडेल
दमनाथपछि रामचन्द्र सभामुख भए । उनकै पालामा हो तत्कालीन नेकपा एमालेले प्रतिनिधि सभामा नौ घन्टासम्म नाराबाजी गरेको । पौडेलले बैठक स्थगित गरिदिएनन् । सभामुख भए पनि उनी पार्टी राजनीतिमा तल्लीन थिए ।
रामचन्द्रले सभामुखका रुपमा थोरै, पार्टी नेताका रुपमा धेरै भूमिका निर्वाह गरेको आरोप तत्कालीन प्रतिपक्षी एमालेले लगाउने गरेको थियो । त्यसैले रामचन्द्र विरुद्ध एमालेले महाभियोग प्रस्ताव राखेको थियो । तर, पारित भएन ।
रामचन्द्रको पालामा प्रतिनिधि सभामा कसैको बहुमत थिएन । संसदीय अस्थिरता चरम अवस्थामा थियो । सांसद् किनबेचको घटना समेत त्यसैबेला भएको थियो ।
तारानाथ रानाभाट
राजा ज्ञानेन्द्रले प्रतिनिधि सभा विघटन गराए । शाही शासन सुरु भयो । तैपनि तारानाथ रानाभाट सभामुख पदमा कायमै रहे । प्रतिनिधि सभाको चुनावका लागि उम्मेदवारी दर्ता गर्ने दिनसम्म सभामुख पदमा कायम रहने व्यवस्था अनुसार उनी सभामुख पदमा कायम रहेका थिए ।
उनले शाही शासनको विरोध गरेनन् । बरु, सभामुखलाई प्रधानमन्त्री पदको जिम्मेवारी राजाले दिन्छन् भन्ने आशमा बसे । लोकतान्त्रिक आन्दोलनलाई पनि सघाएनन् ।
लोकतन्त्र आएपछि प्रतिनिधि सभा पुनर्स्थापित भयो तर उनलाई राजीनामा गर्न लगाइयो । सुवासचन्द्र नेम्वाङले सभामुख पदको जिम्मेवारी पाए ।
सुवासचन्द्र नेम्वाङ
नेपालमा सबैभन्दा लामो समय सभामुख पदमा रहने सुवासचन्द्र नेम्वाङ नै हुन् । कांग्रेस बाहेक अन्य पार्टीबाट सभामुख बन्ने पनि उनी नै पहिलो हुन् ।
उनले पुनर्स्थापित प्रतिनिधि सभाको जिम्मेवारी पाए । त्यसपछि अन्तरिम संविधान अनुसार बनाइएको व्यवस्थापिका संसद्को सभामुख पनि उनै बने । संविधान सभाको पहिलो र दोस्रो चुनावपछि पनि उनी नै सभामुख बने ।
कानुनका ज्ञाता मानिने सुवासचन्द्रले सभामुखका रुपमा नेपाली समाजमा गहिरो छाप छाडेका छन् । उनको संसद् सञ्चालन शैली विधिविधानमा भन्दा सहमतिमा आधारित हुने गर्थ्याे । संविधान सभा कालमा सहमति निर्माणमा उनको ठूलो योगदान थियो । उनी मर्यादित तरिकाले संसद् सञ्चालन गर्थे तर समयको ख्याल गर्दैनथे । उनको पालामा विरलै मात्र पूर्व निर्धारित समयमा बैठक बसेको थियो ।
यसपटक पनि सभामुखका लागि सबैभन्दा लायक पात्र भनेर उनी चर्चित थिए तर अन्तिम समयमा अग्निप्रसाद सापकोटा सभामुख बनेका छन् ।
ओनसरी घर्ती
पहिलो महिला सभाुमख बन्ने सौभाग्य ओनसरीले पाइन् । माओवादी लडाकु पृष्ठभूमिबाट आएकी ओनसरीले सामान्य तरिकाले नै प्रतिनिधि सभा सञ्चालन गरिन् ।
उनको पालामा उल्लेखनीय केही भएन । तथापि, संसदीय परिपाटीको पर्याप्त ज्ञान नभए पनि, अध्ययनको कमी भए पनि ओनसरीले प्रभावकारी तरिकाले सदन सञ्चालन गरेकी थिइन् । यद्यपि, उनी फितलो सभामुख रहिन् ।
कृष्णबहादुर महरा
यौनकाण्डमा परेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएका हुन् । उनको पदको अन्त्य असहज तरिकाले भयो भने कार्यकाल पनि असहज नै रह्याे ।
संसद्मा सभामुख भनेको सर्वमान्य पद हो । संसद्मा सभामुख विरुद्ध कसैले बोल्न पाउँदैन । तर, महराले चर्काे विरोधको सामना गर्नुपर्याे । सदनमा उनी विरुद्ध नाराबाजी समेत भयो ।
फितलो थियो महराको सदन सञ्चालन शैली । सर्वसाधारणले सुवास नेम्वाङ जस्तो शैली महरामा खोज्थे । तर, न महराले सुवासको जस्तै शैली देखाए, न आफ्नै मौलिक शैली देखाए । काण्ड लागेर पद नगएको भए पूरै कार्यकाल पदमा बसेको भए पनि सायद महरा अहिलेसम्मकै फितलो सभामुख मानिन्थे ।
सदनमा उनको कमाण्ड थिएन । बोल्दा हडबडाएर बोल्थे । वाक्य पूरा गर्दैनथे । सदनमा निर्देशन विरलै जारी गर्थे । सदनमा गडबडी हुँदा तत्काल निर्णय गर्न सक्दैनथे, आत्तिन्थे ।
अग्निप्रसाद सापकोटा
जनयुद्धकारी पृष्ठभूमिबाट आएका ओनसरीपछिका दोस्रा सभामुख हुन् अग्निप्रसाद सापकोटा । उनलाई प्रतिनिधि सभाले सभामुख पदमा निर्वाचित गरिसकेको छ । यद्यपि, उनी विवादमुक्त भने छैनन् । उनी विरुद्ध अदालतमा ज्यान मुद्दा विचाराधीन छ ।
शालिन र मिलनसार स्वभावका मानिन्छन् अग्निप्रसाद । सभामुख पदका लागि लायक नै हुन् । तर, अदालतमा विचाराधीन मुद्दाले भने उनको ओजमा केही ग्रहण अवश्य लागेको छ ।
अहिलेसम्मका सभामुखहरु मुख्य चार प्रवृत्तिका देखिन्छन् । एउटा वर्गमा कृष्णप्रसाद भट्टराई पर्छन् भने अर्काे वर्गमा दमननाथ ढुंगाना । यी वर्गबाहेक अर्काे वर्गमा रामचन्द्र पौडेल, ओनसरी घर्ती र कृष्णबहादुर महरा पर्छन् । र, अर्काे वर्गमा सुवासचन्द्र नेम्वाङ पर्छन् ।
अग्निप्रसादले महराको जस्तो कि नेम्वाङको जस्तो शैली अपनाउँछन् ? आगामी दिनमा देखिने नै छ ।


प्रतिकृया दिनुहोस