अग्नि सापकोटाले दिए सभामुखमा उम्मेदवारी, सुवास नेम्वाङ प्रस्तावक
काठमाडौं । नेपाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद् अग्नि सापकोटाले प्रतिनिधि सभाका सभामुख पदमा उम्मेदवारी दर्ता गरेका छन् ।
संसद् सचिवालयमा मंगलबार उनले उम्मेदवारी दर्ता गराए । उनको उम्मेदवारीमा नेकपाका सुवास नेम्वाङ प्रस्तावक छन् भने सांसद् देव गुरुङ, ओनसरी घर्तीमगर र राजपाका सांसद् लक्ष्मणलाल कर्ण समर्थक रहेका छन्।
सभामुख पदका लागि संसद् सचिवालयले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ। सभामुखका लागि चुनाव १२ माघमा हुँदै छ ।
यस्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने भएको छ ।
मंगलबार बिहान सिंहदरबारमा बसेको कांग्रेस संसदीय दल कार्यसमिति बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो ।
सभामुखका लागि सत्तारुढ नेकपाले उम्मेदवारी दिएको र नेकपासँग स्पष्ट बहुमत रहेकाले उम्मेदवारी नदिने निर्णय गरिएको सचेतक पुष्पा भुसालले सनराइज खबरलाई बताइन् । ‘सभामुख आफैमा तटस्थ रहनुपर्ने पद हाे, त्यसैले उम्मेदवारी नदिने निर्णय गरेका हाैं' – उनले भनिन् ।


प्रतिकृया दिनुहोस