सभामुख चुनाव: उम्मेदवारी दर्ता आज
काठमाडौंं । प्रतिनिधि सभाको सभामुखका लागि मंगलबार उम्मेदवारी दर्ता हुँदै छ ।
मंगलबार बिहान ११ देखि दिउसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको संसद सचिवालयले जनाएको छ ।
उम्मेदवारी संघीय संसद् भवन नयाँ बानेश्वरमा दर्ता गर्नुपर्ने छ । मंगलबार दिउसो साढे २ बजेभित्र उम्मेदवारको नामावली प्रकाशन गरिने छ ।
सभामुखको चुनाव माघ १२ का लागि तय भएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा जेष्ठ सदस्य महन्थ ठाकुरले सभामुख चुनाव माघ १२ मा गर्ने घोषणा गरेका थिए ।
त्यसपछि उनले संघीय संसद सचिवालयका महासचिव मनोहर भट्टराईलाई सभामुख चुनावको कार्यतालिका निकाल्न निर्देशन दिएका थिए ।
माघ १२ गते दिउसो ३ बजे बस्ने बैठकमा चुनाव हुने छ ।
सत्तारुढ नेकपाले अग्नि सापकोटालाई सभामुखकाे उम्मेदवार बनाएको छ । प्रतिपक्षी कांग्रेसमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा अहिले छलफल भइरहेको छ ।
गत १२ असोजमा संघीय संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको आरोप लागेपछि पूर्व सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका थिए । त्यसपछि सभामुख पद रिक्त छ ।
उपसभामुख शिवमाया तुम्बाहाङ्फेले संघीय संसद्काे हिउँले अधिवेशन अारम्भ गरेकी थिइन् ।


प्रतिकृया दिनुहोस