गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै
काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिनुहुने भएकाे छ ।
दिउँसाे ३ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासकाे मत लिन लाग्नुभएकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ ।
नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र सांसद् राजीव गुरुङ दीपक मनाङेको समर्थनमा अधिकारी चैत २५ गते मुख्यमन्त्री नियुक्त हुनुभएकाे थियाे । मुख्यमन्त्री नियुक्त भएकाे १ महिनाभित्र विश्वासकाे मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
मुख्यमन्त्री नियुक्त गर्दा सभामुख कृष्णप्रसाद धिताललाई समेत गणना गरेको भन्दै कांग्रेस गण्डकीका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले अधिकारी विरुद्ध चैत २७ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएकाे थियाे । साे रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीकाे इजलासले धिताललाई गणना नगर्दा पनि ३० जना सांसद्को समर्थन रहने भन्दै रिट खारेज गरिदिएकाे थियाे ।
गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र मनाङेसहित ६० जना सांसद् छन् । सत्तापक्षले सर्वाेच्चकाे व्याख्या अनुसार ३० जनाले बहुमत पुग्ने बताएकाे छ । तर प्रतिपक्षले ३१ सांसद् नै चाहिने बताउँदै आएकाे छ ।


प्रतिकृया दिनुहोस