• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

कोशी प्रदेश सभाबाट मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिन निर्देशन दिने संकल्प प्रस्ताव पारित

सनराइज खबर संवाददाता

काठमाडौं । कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिन निर्देशन दिने संकल्प प्रस्ताव प्रदेश सभाबाट पारित भएको छ ।

शुक्रबार बसेको प्रदेश सभा बैठकले सो प्रस्ताव पारित गरेको हो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रदेश सभामा सो प्रस्ताव दर्ता गराएका थिए । 

शुक्रबार भएको मतदान प्रक्रियामा सो प्रस्तावको पक्षमा ५२ प्रदेश सभा सदस्य उभिनुभएको थियो ।  प्रदेश सभामा विपक्षमा रहेका प्रदेशसभा सांसदले मत जाहेर गर्न चाहेनन् । तीन जना तटस्थ बसे । 

एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री कार्की अल्पमतमा रहेकाले उहाँलाई विश्वासको मत लिन प्रदेश सभाले निर्देशन दिनुपर्ने लगायतका विभिन्न मागसहित संकल्प प्रस्ताव दर्ता गर्नुभएको थियो । सो  प्रस्तावलाई नेकपा एमालेका किशोरचन्द्र दुलाल र माओवादी केन्द्रका गणेश उप्रेतीले समर्थन गर्नुभएको थियो । 

प्रस्ताव ध्वनि मतले पारित भएको हो । ध्वनि मतले पास भएपछि मत विभाजन गर्ने व्यवस्था नभएको भन्दै कांग्रेस र एकीकृत समाजवादीका प्रदेश सभा सदस्य सो प्रक्रियामा सहभागी भएनन् ।

प्रतिकृया दिनुहोस