• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

मृत्युको मुखबाट फर्किएका सांसद् रमेशजंग उठे, राष्ट्रिय सभा जान थाले

अस्मिता क्षेत्री

मृत्युको मुखबाट फर्किएका सांसद् रमेशजंग उठे, राष्ट्रिय सभा जान थाले

काठमाडौं । कोही पनि सांसद् संसदीय बैठकमा पूरै समय बस्नु या नबस्नु समाचार होइन । तर, आज एउटा विशेष समाचार छ । राष्ट्रिय सभाको आइतबारको बैठकमा पूरै समय बसे रमेशजंग रायमाझी । 

फरक छ रमेशजंगको प्रकरण । उनी मृत्युसँग साक्षात्कार गरेर फर्किएका हुन् । 

मंसिर १३ गतेको घटना हो । उनी आफ्नै घरबाट लडे । करिब १५ फिट तल ढुंगामा बजारिए । घरकी सहयोगी महिलाकी सानी छोरी सोनु थारु खस्न लागेको देखेपछि बचाउन दौडिएका थिए । आफैं लडे । उनको टाउकोमा ठूलो चोट लाग्यो । हात भाँच्चियो । 

त्यसबेला उनी डेंगु लागेर भरखरै मात्र उठेका थिए । डेंगुले थलिएको शरीरमा भयंकर चोट लाग्यो । रमेशजंगलाई ज्यान नै जानेगरी चाेट लागेकाे थियाे । 

अहिले उनी निरन्तर फिजियोथेरापी गर्न जान्छन् । गत २४ गते उनी राष्ट्रिय सभा बैठकमा पुगे । त्यहाँ भेटिएकाहरु सबैले ‘बाँचेर आउनुभएकोमा बधाई’ भने । त्यो दिन उनी केही समय बैठकमा बसेर फर्किए । अ‌ाज पनि उनी फिजियाेथेरापी गरेर राष्ट्रिय सभा पुगेका थिए।

बाँचेर फर्किएका यी सांसद् आजको बैठकमा भने पूरै समय बसे । तर, कुनै पनि एजेण्डामा बोलेनन् । 

रमेशजंग थलिएकै बेलामा संसद् अधिवेशन सुरु भएकाे हाे । प्रतिनिधि सभा बैठक गतिरोधको सिकार बने पनि राष्ट्रिय सभा चाहिँ निरन्तर चलिरहेको छ । थलिएर बसेको बेला रमेशजंग राष्ट्रिय सभाको बैठक लाइभ हेर्थे । 

उनी भन्छन्– ‘घरमा सीमित भएर बस्न गाह्रो हुने रहेछ, जनताको कुरा बोलिरहनुपर्ने जिम्मेवारीमा छु, राष्ट्रिय सभामा गएर बोलौंबोलौं लाग्दो रहेछ ।’

उनले भने– ‘अब पाँच गतेको बैठकबाट चाहिँ निरन्तर बोल्छु ।’

प्रतिकृया दिनुहोस