प्रदेश सभा बैठकमा कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माद्वारा राजीनामा घोषणा
काठमाडौं । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिनुभएको छ ।
विश्वासको मत लिन बोलाउनु भएको प्रदेश सभा बैठकमा विश्वासको मत नलिई उहाँले राजीनामा दिने घोषणा गर्नुभएको हो । पछिल्लो राजनीतिक परिस्थितिमा पदमा रहिरहन उपयुक्त नदेखिएकाले राजीनामा दिने निर्णय गरेको उहाँले बताउनुभयो ।
प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै शर्माले आफू मुख्यमन्त्री भएर गरेका प्रमुख काम बारे उल्लेख गर्नुभएको छ । उहाँले केन्द्रीय राजनीतिमा आएको परिवर्तनको कारण आफूले मुख्यमन्त्री पदबाट राजीनामा दिन लागेको घोषणा गर्नुभयो । ‘पछिल्लो समय केन्द्रीय राजनीतिमा आएको परिवर्तनले गर्दा मेरो नेतृत्वको सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको र संवैधानिक प्रक्रिया अनुरूप मैले विश्वासको मतका लागि अगाडि बढिसकेको सन्दर्भमा प्रदेश सरकारको निरन्तरता नदिने तथा विश्वासको मत समेतका लागि अनुरोध गर्न नसकिने परिस्थिति उत्पन्न भयो, यसले सत्ताको खेललाई उदाङ्गो बनाएको छ’, उहाँले भन्नुभयो ।
प्रदेश सरकारको स्थिरता बिनाको समृद्धि सम्भव नभएको उहाँले बताउनुभयो । संघीयताको मर्म र भावना विपरीत सामन्ती एकात्मक मानसिकता राखेर गठबन्धनको नाममा सत्ताको खेल भइरहनेले विश्वासको सङ्कट हुने, दलीय प्रणाली र संघीयतालाई नै कमजोर बनाउने तथा राजनीति प्रति वितृष्णा पैदा हुँदै जाने उहाँको धारणा छ । यसले देश र जनता कसैको पनि भलाई नहुने शर्माले बताउनुभयो ।
केन्द्रमा नयाँ सत्ता समीकरण बनेसँगै कर्णालीको मुख्यमन्त्री एमालेको भागमा परेको छ । कांग्रेस लगायतका दललेको पुराना गठबन्धनमा माओवादीबाट मुख्यमन्त्री बन्नुभएका शर्मालाई नयाँ निर्णय अनुसार मुख्यमन्त्री पदबाट राजीनामा दिन पार्टीले निर्देशन दिएको थियो । तर उहाँले त्यसलाई अवज्ञा गर्दै प्रदेश सभाबाट विश्वासको मत लिने प्रस्ताव दर्ता गराउनुभएको थियो ।
विश्वासको मत लिनको लागि शर्माले मंगलबार बैठक बोलाउनुभएको थियो । दिनभरि पार्टीका नेताहरू बिच छलफल हुँदा पनि उहाँले मुख्यमन्त्रीबाट राजीनामा दिन इन्कार गरेपछि प्रदेश सभा बैठक आज दिउँसो तीन बजेसम्मको लागि स्थगित गरिएको थियो । आजको बैठकमा भने उहाँले विश्वासको मत लिनु अघि नै राजीनामाको घोषणा गर्नुभयो ।


प्रतिकृया दिनुहोस