मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाएको कर्णाली प्रदेश सभा बैठक स्थगित
काठमाडौं । मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाएको कर्णाली प्रदेश सभाको आजको बैठक स्थगित भएको छ ।
मंगलबार दिउँसो तीन बजेका लागि बोलाइएको बैठक माओवादी र एमाले बिच कुरा नमिले पछि स्थगित भएको हो । नेकपा माओवादी केन्द्र र एमालेका शीर्ष नेताहरूबिच वार्ता भएको भए पनि निष्कर्षमा पुग्न नसकेपछि बैठक स्थगित भएको छ ।
काठमाडौंमा शीर्ष नेता बिचको सहमतिमा कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेको भागमा परेको छ । तर हालका मुख्यमन्त्री राजकुमार शर्मा मुख्यमन्त्री पद छाड्न तयार नभएपछि सहमति बन्न नसकेको हो । पार्टी केन्द्रले शर्मालाई मुख्यमन्त्रीबाट राजीनामा दिएर एमालेलाई मुख्यमन्त्री बन्न बाटो खोलिदिन निर्देशन दिएको भए पनि शर्माले भने विश्वासको मत लिन आज प्रदेश सभा बैठक बोलाउनुभएको थियो ।
मुख्यमन्त्रीसँग एमाले र माओवादीका नेताहरूको दिनभरि छलफल भए पनि कुनै निष्कर्ष निस्किएको छैन । एमाले संसदीय दलका नेता यामलाल कँडेल र पार्टी प्रदेश इन्चार्ज लेखराज भट्ट, माओवादीका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ल, तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाही लगायतका नेताहरूले मुख्यमन्त्री राजकुमार शर्मासँग छलफल गर्नुभएको थियो ।
दलहरू बिच सहमति नजुटेपछि प्रदेश सभा बैठक सूचना टाँस गरी स्थगित गरिएको छ । बैठक बुधबार दिउँसो ३ बजे बस्ने कर्णाली प्रदेश सभा सचिवालयले जनाएको छ ।
.jpg)


प्रतिकृया दिनुहोस