प्रस्तावित महालेखापरीक्षक तोयम राया विरुद्ध उजुरी आह्वान
काठमाडाैं । प्रस्तावित महालेखापरीक्षक तोयम रायाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढेको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा साेमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले रायाविरुद्ध उजुरी दिन आह्वान गर्ने निर्णय गरेको हो ।
रायाविरुद्ध कुनै गुनासा वा उजुरी भएमा १० दिनभित्र समितिमा बुझाउन सर्वसाधारणलाई सूचना जारी गर्ने निर्णय भएकाे समिति सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।
आइतबार बसेकाे संवैधानिक परिषद्को बैठकले राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी रायालाई महालेखापरीक्षकमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
सुनुवाइ समितिबाट उहाँकाे नाम अनुमाेदन भएपछि राष्ट्रपति रामचन्द्र पाैडेलले उहाँलाई नियुक्त गर्नुहुनेछ ।


प्रतिकृया दिनुहोस