राष्ट्रिय सभामा हात्ती, तेलखानी र सेक्युरिटी प्रेसको चर्चा
काठमाडौं । ‘चितवन राष्ट्रिय निकुञ्ज भित्र जंगली हात्ती पसेर आतंक मच्चाइरहेको छ’– दिलकुमारी रावल पार्वतीले राष्ट्रिय सभा बैठकमा भनिन्– ‘हात्तीले आठ बिगाहा केरा खेति नष्ट गरेको छ, कैयौं घरमा पसेर अन्न नाश पारेको छ ।’
शून्य समयमा उनले माग गरिन्– ‘चितवन राष्ट्रिय निकुञ्ज र भरतपुर महानगरपालिकामा पर्ने मानव बस्ती बीच तारबार गरियोस् ।’
शून्य समयमा त्यसपछि बोलिन् धनकुमारी खतिवडाले । उनले समाचारमा आएका कुरा बारे चर्चा गरिन् । भनिन्– ‘सरकारलाई प्रभावित गरी सेक्युरिटी प्रेस किन्ने योजना नीति तथा कार्यक्रममा पार्ने स्वीस कम्पनीको नेपाली एजेन्ट हो । ११ अर्ब रुपैयाँमा पाइने सेक्युरिटी प्रेस २३ अर्बमा किन्ने सरकारको तयारी छापामा आएको छ । कुरा के हो ? जानकारी चाहन्छु ।’
नैनकला ओझाले मोरङको क्षेत्र नम्बर ३ मा पर्ने राधानगरमा २०२५ वर्षदेखि तेल (पेट्रोलियम) खानी खोज्न थालिएको चर्चा गर्दै भनिन्– ‘त्यहाँ खन्न छाडेर सबै सामान टहरोमा राखिएको छ । सामान हेर्न दुईजना सुरक्षाकर्मी पनि अहिलेसम्मै राखिएको छ । त्यहाँ तेलखानी छ भनेर व्यापक चर्चा छ । त्यहाँ तेल खानी छ या छैन सरकारले जानकारी दिनुपर्छ ।’
यस्तै सांसद् युटल तामाङले आयोगहरु बोलिन् । उनले प्रश्न गरिन्– ‘महिला आयोग जनजाति आयोग बनाउन किन ढिलासुस्ती भयो ?’


प्रतिकृया दिनुहोस