छाउगोठमा बस्ने र बस्न लगाउने दुबैलाई कारबाही हुने
काठमाडौं । छाउपडी प्रथाका नाममा महिनावारी भएका बेला छाउगोठमा बस्ने र बस्न लगाउने दुबैलाई कारबाही हुने भएकाे छ ।
सोमबार प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिले छाउपडी उन्मुलनका लागि भएका प्रयास तथा परिणाम सम्बन्धमा भएको छलफलपछि समितिले गृह मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो ।
बैठकले संस्कारका नाममा गलत व्यवहार गर्ने छुट कसैलाई नभएको भन्दै जसको घरमा यो प्रचलन रहेको छ, ती घरका अभिभावक र महिलालाई कारबाही गर्नुपर्ने भन्दै यस्ताे सिफारिस गरेकाे छ ।
यसमा समन्वय गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई समेत निर्देशन दिइएको समिति सभापति नीरुदेवी पालले जानकारी दिइन् ।
समितिले गत वर्ष बाजुरा लगायतका जिल्लामा स्थलगत अध्ययन गरी अल्पकालिन र दीर्घकालिन सुझावसहितको प्रतिवेदन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पठाएको थियो । सो प्रतिवेदन कार्यान्वय नभएको र तत्काल रणनीति बनाएर प्राथमिकताका आधारमा कार्यान्वयनमा ल्याउन पनि समितिले निर्देशन दिएको छ ।
‘प्रतिवेदनको पूर्ण कार्यान्वयन गर्न तत्काल रणनीति बनाइ प्राथमिकीकरण सहितको परिणाममुखी कार्यसम्पादन गर्न/गराउन र आगामी दिनबाट कुनै पनि छाउ महिलाको मृत्यु हुने अवस्था आउन नदिने वातावरण बनाउन समिति गृहमन्त्रालयलाई निर्देशन दिन्छ ’ – निर्देशनमा उल्लेख छ ।
यस्तै सुदूरपश्चिम तथा कर्णाली प्रदेश एवं स्थानीय तहसँग समन्वय गरी तत्काल कार्यसम्पादन गर्न पनि महिला बालकालिका मन्त्रालयलाई निर्देशन दिइएको छ ।
कुसंस्कारको अन्त्य गर्न समितिले आवश्यक बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयलाई पनि निर्देशन दिएको छ ।


प्रतिकृया दिनुहोस