• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

गज्जब काम– सार्वजनिक गर्न थाल्यो राष्ट्रिय सभाले उपस्थित र अनुपस्थित हुनेको नाम

टेकेन्द्र बुढाथाेकी

काठमाडौं ।  आफना सांसद्हरु बैठकमा पर्याप्त संख्यामा उपस्थित नहुने समस्या समाधान गर्न राष्ट्रिय सभाले यस्तो उपाय अपनाएको छ, जसको अनुकरण प्रतिनिधि सभाले समेत गर्नुपर्ने देखिएको छ । 

सभाको बैठकमा सांसद्हरु पर्याप्त संख्यामा उपस्थित नहुने समस्याको समाधान गर्न राष्ट्रिय सभाले हाजिरी विवरण सार्वजनिक गर्न थालेको हो । राष्ट्रिय सभामा ५९ जना सदस्य छन् । 

विगतमा लगभग गोप्य राखिन्थ्यो संसद् बैठकमा सांसद्हरुको उपस्थिति विवरण । यो अधिवेशनबाट राष्ट्रिय सभाले उपस्थिति बिवरण सार्वजनिक गर्ने निर्णय गरेको हो । 

हरेक पटक राष्ट्रिय सभा बैठक सकिनासाथ कोको सांसद् उपस्थित भए, को अनुपस्थित भए भन्ने विवरण सार्वजनिक गर्न थालिएको हो ।  नेपालको संसदीय अभ्याशमा यो नौलो प्रयोग हो । 

सांसद्हरुले राष्ट्रिय सभाको बैठक हुँदा होस् या प्रतिनिधि सभाको, बैठक सुरु हुन अघि हाजिरी गर्नुपर्छ । त्यसरी हाजिरी गर्नेको विवरण किन सार्वजनिक गरिएको हो ? यो प्रश्नको जवाफमा राष्ट्रिय सभामा नेकपाका सचेतक खिमलाल भट्टराई भन्छन– ‘सांसद्हरुको नियमित उपस्थिति होस्, प्रभावकारी बैठक होस्, आफ्नो कर्तब्य र दायित्व पूरा गरुन् भनेर हाजिरी सार्वजनिक गर्न थालिएको हो ।’

खिमलाल भन्छन्– ‘आफ्ना जनप्रतिनिधिका बारेमा जनताले सबै कुरा थाहा पाउनुपर्छ भनेर सार्वजनिक गरिएको हो ।’

संघीय संसद्का सांसद्ले दसवटा भन्दा धेरै बैठकमा लगातार अनुपस्थित हुन पाउँदैनन् । अनुपस्थित हुन परेमा अग्रिम सूचना दिएको हुनुपर्छ । सूचना नदिई अनुपस्थित भएमा उनीहरुको सांसद् पद गुम्ने व्यवस्था संविधानमै गरिएको छ । 

दसवटा बैठकमा अनुपस्थित भएमा सांसद् पद गुम्ने व्यवस्था अघिल्लो संविधानमा पनि थियो । तर, तत्कालीन संविधान सभा (व्यवस्थापिका–संसद्) ले सांसद्हरुको हाजिरी विवरण अनावश्यक रुपमा गोप्य राख्ने गरेको थियो । 

राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाल भन्छन्– ‘यो अधिवेशबन भन्दा अगाडी पनि सांसद्हरुको उपस्थिति बिवरण गोप्य चाहिँ थिएन तर सचिवालयमा नै गएर विवरण खोज्नु पर्ने अवस्था थियो । अहिले हामीले पारदर्शी बनाएका छौं ।’

सचिव फुयालका अनुसार हाजिरी विवरण कहिले पनि गोप्य थिएन, अहिले सार्वजनिक गर्ने परिपाटी सुरु गरिएको मात्र हो । उनी भन्छन्– ‘पारदर्शिता होस्, बैठकमा जनताका निवार्चित प्रतिनिधिहरु को आए को आएनन्, को नियमित आइरहेको छ र छैन भन्ने जनताले देखुन् बुझु्न भनेर हाजिरी सार्वजनिक गर्ने व्यवस्था गरिएको हो ।’

‘राष्ट्रिय सभा सदस्यहरुकै निर्णय अनुसार यस्तो व्यवस्था गरिएको हो’– सचिव फुयालले भने–‘ सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको नेतृत्वमा रहेको कार्यव्यवस्था परामर्श समितिमा सबै दलका सचेतक हुनुहुन्छ, उहाँहरुको  निर्णय अनुसार यो अधिवेशनबाट हामीले हाजिरी विवरण हरेक बैठकको अन्त्यमा सार्वजनिक गर्न थालेका हौं ।’

राष्ट्रिय सभामा विपक्षी दलका नेता सुरेन्द्र पाण्डेले राष्ट्रिय सभाको प्रभावकारिता बढाउन र समग्र राष्ट्रिय सभाले देशमा केही नयाँ र सकारात्मक गर्नुपर्छ भनेर हाजिरी विवरण सार्वजनिक गर्ने परिपाटी थालिएको बताए । उनले भने– ‘हो, हामी सदस्यहरुले नै सर्वसम्मतिले यस्तो निर्णय लिएका हौं ।’

यस्तो हुन्छ विवरण

राष्ट्रिय सभाले हाजिरी खाताको फोटो खिचेर सार्वजनिक गर्ने गरेको छ । सार्वजनिक गरिएको विवरण अनुसार १७ पुसको बैठकमा रुद्रबहादुर खड्का, दुर्गाप्रसाद उपाध्याय, परशु राम मेघी गुरुङ, बद्रीप्रसाद पाण्डे, डा. युवराज खतिवडा, यूटोल लामा, रमेशजंग रायमाझी अनुपस्थित थिए । त्यसैगरी रामलखन चमार, शान्तिकुमारी अधिकारी र हरिशरण शिवाकोटी अनुपस्थित थिए । 

त्यसैगरी १४ पुसको बैठकमा जितेन्द्र नारायण देव, दुर्गाप्रसाद उपाध्याय, नैनकला ओझा, मुक्ताकुमारी यादव, रमेशजंग रायमाझी, रामलखन मगर, रामबहादुर थापा मगर, शान्तिकुमारी अधिकारी अनुपस्थित थिए । 

यीमध्ये रमेशजंग रायमाझी आफ्नै घरमा लडेर घाइते भइ उपचार गराइरहेका छन् । त्यसैगरी रामबहादुर थापा मगर र डा. युवराज खतिवडा मन्त्री हुन् । मन्त्री पदमा रहेकाले पनि सदनमा नियमित उपस्थित हुनुपर्छ । 


 

प्रतिकृया दिनुहोस