राष्ट्रिय सभामा देखियो सत्तापक्ष र प्रतिपक्षको एकता
काठमाडौं । राष्ट्रिय सभामा सधैं पक्ष र प्रतिपक्षमा विभाजित हुने सदस्य बीच बिहीबार भने अनौठो एकता देखियो । उनीहरु राष्ट्रिय सभामा एकै स्वरमा प्रस्तुत भए ।
त्यो विषय थियो, नेपाल–भारत सीमा समस्या समाधान । यसका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर राष्ट्रिय सभामा संकल्प प्रस्ताव पेश गरेका थिए ।
यसका प्रस्तावक थिए नेकपाका राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराई र समर्थक थिइन् नेपाली कांग्रेसकी राष्ट्रिय सभाकी सदस्य सरीता प्रसाईं ।
यो प्रस्तावमा पहिलोपटक नेकपा र कांग्रेस राष्ट्रिय सभामा पहिलोपटक एकैठाउँमा उभिए ।
यसअघि बिहीबारको राष्ट्रिय सभा बैठकले सीमा विवाद सम्बन्धी राष्ट्रिय संकल्प प्रस्तावमाथिको छलफल गरेको हो । छलफलपछि प्रस्ताव सर्वसम्मत स्वीकृत भएको छ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सर्वसम्मतमा स्वीकृत भएको संकल्प प्रस्ताव कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिए ।
सांसद खिमलालले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, स्वतन्त्रता, क्षेत्रिय अखण्डताको विषयमा कुनै पनि देशका लागि जीवनमरण र निर्णायक प्रश्न बन्ने बताए । उनले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालीका लागि यस्तै बिषय रहेको पनि बताए ।
तथ्य र प्रमाणका आधारमा ती भूभाग आफ्नो भनेर दावी गरिएको भन्दै उनले सुगौली सन्धिले तय गरेको नेपालको सीमा कायम गर्नेतर्फ पहल गर्नुपर्ने आवश्यकता रहेको बताए ।
प्रस्तावको समर्थन सांसद सरिता प्रसाईले सरकारले सीमा विवाद मिलाउन सक्रिय कुटनीतिक पहल गर्न नसकेको बताइन् । यसको लागि प्रधानमन्त्रीको तहबाट पनि छलफल नभएकोमा उनले असन्तुष्टि जनाइन् ।
उनले लिम्पियाधुरा, कालापानी र लिपुकेल हाम्रो हो भन्ने प्रमाणसहित आफ्नो धारणा भारत सरकार समक्ष राखी विवाद टुंग्याउन सरकारलाई आग्रह गरिन् ।



प्रतिकृया दिनुहोस