रेशम चौधरीको क्षेत्रमा बजेट निकासा गर्न माग
काठमाडों । कैलाली क्षेत्र नम्बर २ मा बजेट निकासा गर्न सांसदहरुले माग गरेका छन् । साे क्षेत्रबाट हाल जेलमा रहेका सांसद रेशम चौधरी निर्वाचित भएका थिए ।
बुधबारको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै स्थानीय साझेदारी विकास बजेटको रकम निकासा गर्न माग गरिएको हो । राष्ट्रिय सभा सदस्य कमला वलीले उक्त क्षेत्रको बजेट निकासा गर्न माग गरिन् ।
उनले भनिन्–‘रेशम चौधरी निर्वाचित भएकाे क्षेत्रकाे स्थानीय साझेदारी विकास कार्यक्रमको बजेट राेकिएको छ ।’
गत वर्ष साे क्षेत्रको बजेट विनियोजन गर्ने मौका पाएकाे बताउँदै उनले भनिन्–‘त्यहाँका जनताका लागि भएपनि बजेट वक्तव्यमा आएको रकम तुरुन्त निकासा होस् ।'
उनले बजेट निकासाकाे लागि सरकारको ध्यानाकर्षण गराइन् ।
यस्तैगरी राष्ट्रिय सभा सदस्य उदया शर्मा पौडेलले स्थानीय तहको लेखा प्रणाली व्यवस्थित गर्ने सफ्टवेयरबाट विवरण गायब भएको प्रति ध्यानाकर्षण गराइन् ।
उनले मंसिर १२ बाट पुस ४ गतेसम्मको विवरण गायब पारिएको भन्दै आइटीलाई सुरक्षित र भरपर्दो बनाउन सरकरको ध्यानाकर्षण गराइन् । ‘लेखा सफ्टवेयर आपराधिक ह्याकरहरुले कब्जा गरेको अवस्था छ ।' उनले भनिन् – 'केही समयअघि बैंकहरुको एटीएमबाट दुरुपयोग गरेर करोडौं लुटेको अवस्था थियो । आइटीलाई सुरक्षित र भरपर्दो बनाउनका लागि सरकारको ध्यान जाओस् ।’
सभाकी सदस्य कोमल वलीले अंग्रेजी नयाँ वर्षको शुभकामना दिँदै नेपाल भ्रमण वर्ष २०२० लाई सफलताको शुभकामना व्यक्त गरिन् ।
उनले नेपालीहरुको 'अतिथि देवो भव' को संस्कारलाई अर्थतन्त्रसँग जोडेर जनजीवन उकास्ने समय आएकाले सरकारले यसतर्फ ध्यान दिनुपर्ने बताइन् ।
राष्ट्रिय सभा सदस्य तारादेवी भट्टले उखु किसानहरुको विषयमा सरकारले ध्यान दिनुपर्ने बताइन् । उनले देशमा भ्रष्टाचार र अपराध फैलिएको अवस्थामा सरकारले त्यसको रोकथाम गर्नुको सट्टा सरकारले अभिव्यक्ति स्वतन्त्रता कुन्ठित पार्ने गरि एने ल्याएको भन्दै चिन्ता व्यक्त गरिन् ।


प्रतिकृया दिनुहोस