संसदीय समितिमा मन्त्रीले भने – 'मिल सञ्चालक फरार छन्'
काठमाडौं । उखु किसानले प्रतिनिधि सभाकाे उद्याेग, वाणिज्य, श्रम तथा उपभाेक्ता हित समितिमा आफ्ना गुनासा राखेका छन् । चिनी मिल सञ्चालकले भुक्तानी नदिएर समस्यामा परेका किसानले समितिमा आफ्ना समस्या राख्दै उद्याेगीलाई बेचेकाे उखुकाे पैसा दिलाउन माग गरे ।
बैठकमा उनीहरुले सरकारले निर्धारण गरेको उखुको मूल्य तथा अनुदान समेत पाउन नसकेको समेत बताए ।
समितिकाे सोमबार सिंहदरबारमा बसेको बैठकले किसानको गुनासाे सुनेपछि उनीहरुकाे राेकिएकाे भुक्तानी तत्काल दिलाउन सरकारलाई निर्देशन दिएको छ । भुक्तानी दिन आलटाल गर्ने उद्याेगीलाई कारबाही गर्न समेत समितिले निर्देशन दिएकाे छ ।
छलफलका लागि बैठकमा आएका कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषालले चिनी मिल सञ्चालक अहिले फरार रहेको बताएका छन् । मन्त्री भुषालले अन्नपूर्ण सुगर मिल सञ्चालक राकेश अग्रवाल र महालक्ष्मी सुगर मिलका सञ्चालक वीरेन्द्र कनौडिया फरार भएको बताएका हुन् । फरार सञ्चालकलाई सरकारले खोजी गरेको पनि मन्त्री भुषालले जानकारी दिए ।
किसानलाई अन्नपूर्ण सुगर मिलले ५० करोड र महालक्ष्मी सुगर मिलले २१ करोड रुपैयाँ तिर्न बाँकी छ ।
सञ्चालकले आफू खुशी मूल्य निर्धारण गरी उखु खरिद गरे पनि बक्यौता रकम नदिएपछि केही दिन देखि काठमाडौंको माइतीघरमा उखु किसानहरु आन्दोलनरत छन् ।


प्रतिकृया दिनुहोस