• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

मीनभवन घटनाका दाेषीलाई कारबाहीकाे माग

सनराइज खबर संवाददाता

काठमाडौं । नेविसंघका विद्यार्थी कुटिएको विषयले राष्ट्रिय सभामा प्रवेश पाएको छ । राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै कांग्रेस सांसद् बद्रीप्रसाद पाण्डेले मीनभवन क्याम्पसमा अनेरास्ववियुका विद्यार्थीले नेविसंघका विद्यार्थीलाई सामान्य विवादमा निर्घात कुटपिट गरेको आराेप लगाए । 

उनले भने– ‘अनेरास्ववियुका विद्यार्थीले नेवि संघका क्याम्पस अध्यक्ष सरोज तिमल्सिना र सहसचिव निरोज शाह पदाधिकारीलाई खुकुरी, रड र चिर्पट प्रयोग गरी निर्घात घाइते बनाएका छन् ।‘

तिमल्सिनाको अवस्था अहिले पनि गम्भीर रहेको जानकारी दिँदै उनले दोषीमाथि कारबाहीकाे माग गरे ।

त्यस्तै सांसद पाण्डेले ४ पुसमा रत्न राज्यलक्ष्मी क्याम्पसभित्र रहेका नेविसंघ उपाध्यक्ष नविन खड्कामाथि पनि अनेरास्ववियुका विद्यार्थीले आक्रमण गरेको बताए । नविन गम्भीर घाइते रहेको भन्दै उनले  प्रहरीले जाहेरी नलिएको बताए ।

प्रहरीले घटनाकाे जाहेरी लिन नमानेकाे बताउँदै अनेरास्ववियुका नेतालाई प्रहरीले संरक्षण गरेकाे आराेप उनले लगाए । उनले सत्ताकाे संरक्षणमा हुने अपराध पञ्चायत कालकाे मण्डलेले जस्तै देखिएकाे उनले बताए । 

यी प्रतिनिधि घटना मात्र भएको भन्दै उनले देशभरबाट यस्तै घटना भएको खबर कांग्रेसलाई आएको बताए । 

सत्ता नजिक रहेकाले आक्रमण गर्दा पनि उन्मुक्ति पाइरहने अवस्थाको रहेकाे अरु घटनालाई भने बढाइचढाई गरेर मुद्दा लगाउने काम भएको आराेप उनले लगाए । उनले दाेषीलाई कारबाही गर्दै दण्डहीनता अन्त्य गर्न आग्रह गरेका छन् । 

 

प्रतिकृया दिनुहोस