कोशी प्रदेश सभाबाट सर्वसम्मत रुपमा पारित भयाे प्रतिस्थापन बजेट विधेयक
काठमाडाैं । कोशी प्रदेश सभाले प्रतिस्थापन बजेट विधेयक सर्वसम्मत रुपमा पारित गरेको छ ।
शनिबार विराटनगरमा बसेकाे काेशी प्रदेश सभा बैठकले प्रतिस्थापन बजेट विधेयक सर्वसम्मत रुपमा पारित गरेकाे हाे ।
बैठकले 'कोशी प्रदेश आर्थिक अध्यादेश, २०८०' लाई प्रतिस्थापन गर्न बनेको 'कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८०' र 'कोशी प्रदेश विनियोजन अध्यादेश, २०८०' लाई प्रतिस्थापन गर्न बनेको 'आर्थिक वर्ष २०८०८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०' सर्वसम्मत पारित गरेको हो ।
मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभा नियावली, २०७४ को (पहिलो संशोधनसमेत) नियम ९३ को उपनियम १ बमोजिम सदनमा प्रस्तुत गर्नुभएकाे साे विधेयकलाई निर्णयार्थ पेस गर्दै उपसभामुख सिर्जना दनुवारले सर्वसम्मतिले पारित भएकाे घाेषणा गर्नुभएकाे छ ।
प्रतिस्थापन विधेयकअनुसार चालु आर्थिक वर्षका लागि कूल ३६ अर्ब ७० करोड ८७ लाख २५ हजार बजेटमा पुँजीगत खर्च २० अर्ब ३८ करोड ५० लाख ८२ हजार रुपैयाँ र चालु खर्च १६ अर्ब ३१ करोड ३६ लाख ४३ हजार रुपैयाँ विनियोजन भएको छ । बजेटमा ३करोड ४७ लाख ८५ हजार रुपैयाँ थप व्ययभार हुने उल्लेख छ ।
प्रदेश सभाकाे अर्काे बैठक आइतबार बिहान ११ बजे बस्नेछ ।


प्रतिकृया दिनुहोस