• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

प्रतिगुप्तचरी विधेयक विरुद्ध कांग्रेसले दर्ता गर्‍याे विरोधको सूचना

टेकेन्द्र बुढाथाेकी

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चर्काे विरोध गरिरहेको विशेष सेवा विधेयक सरकारले अगाडि बढाउने भएको छ । कांग्रेसले सो विधेयक फिर्ता लिन सरकारसँग माग गर्दै आएको छ । 

सो विधेयक सोमबार बस्ने राष्ट्रिय सभा बैठकमा पेस हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सो विधेयक पेस गर्ने कार्यसूची राष्ट्रिय सभा सचिवालयले सार्वजनिक गरेको छ । 

सो विधेयकमा नेपालले अन्य मुलुकमा जासूसी गर्न सक्ने व्यवस्था गरेको छ भने देशभित्र पनि विदेशीले गर्ने जासूसीका बारेमा हेर्ने व्यवस्था गरिएको छ । प्रतिगुप्तचरी विधेयक नामले चर्चित् सो विधेयकमा अहिलेकै राष्ट्रिय अनुसन्धान विभाग मातहत रहने गरी प्रतिगुप्तचरी ईकाइको व्यवस्था प्रस्ताव गरिएको छ । 

सम्भवत सोमबारको बैठकमा प्रधानमन्त्री ओली उपस्थित हुने छैनन् । प्रधानमन्त्री उपस्थित नभएको अवस्थामा उनको तर्फबाट अरु कोही मन्त्रीले सो विधेयक सदनमा पेस गर्न सक्छन् । 
तर, प्रतिपक्षी कांग्रेसले सो विधेयक सदनमा भित्रिन नदिन विरोधको सूचना दर्ता गरेको छ । कांग्रेसका सांसद् प्रकाश पन्तले सो विधेयकमा विरोधको सूचना दर्ता गरेका छन् । 
कांग्रेस सांसद् राधेश्याम अधिकारीले सो विधेयकले नागरिकको मौलिक हक र व्यक्तिगत गोपनीयताको हक हनन गर्ने भएकाले विरोधको सूचना दर्ता गरिएको सनराइज खबरलाई बताए । उनले भने– ‘आवश्यक नै नभएको विधेयक किन सदनमा ल्याउनु ?’
राष्ट्रिय सभा बैठकमा सरकारको तर्फबाट विधेयक प्रस्तुत गरिए लगत्तै विरोधको सूचना पनि पेस गरिने छ । त्यसपछि विरोधको सूचना उपर बैठकमा निर्णय लिइनेछ । सभामा नेकपाको पूर्ण बहुमत भएकाले विधेयकको पक्षमा बहुमत हुनेछ । त्यसपछि विधेयक उपर छलफलको प्रक्रिया अगाडि बढाइने छ । 

सो विधेयक राष्ट्रिय सभामा दर्ता हुनासाथ कांग्रेस संसदीय दलले विज्ञप्ति जारी गरेर विरोध गरेको थियो । यस्तै, कांग्रेस केन्दीय समिति बैठकले पनि विधेयकको विरोध गर्ने निर्णय गरेको थियो । 

प्रतिकृया दिनुहोस